arin enterprises

पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटाली च्याम्पियन

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ २८, सोमबार

 पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनल खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले युरो २०२०को उपाधि जितेको हो ।

इंग्ल्यान्डको लन्डन स्थित वेम्बली स्टेडियममा भएको खेल निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा इटालीले बाजी मार्यो ।

पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गर्दा आन्द्रे बेलोट्टी र जोर्गिन्हो गोल गर्न सकेनन् ।

यस्तै इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गर्दा मार्कुस रासफोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न सकेनन् ।

यसअघि खेलमा सुरुवाती अग्रता इंग्ल्यान्डले बनाएको थियो । खेलको दोस्रो मिनेटमै लुकशले किएरन ट्रिपिएरको पासमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६७ औं मिनेटमा इटालीका लियोनार्दो बुनिचीले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

 

यो इटालीको दोस्रो उपाधि हो भने यस अघि इटालीले सन् १९६८ मा युरोको उपाधि जितेको थियो ।

साथै इंग्ल्यान्डमाथिको जितसँगै इटालीले ३४ खेलसम्म अपराजित यात्रालाई पनि कायमै राखेको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान तोडेको थियो ।

इंग्ल्यान्डले भने पहिलो पटक युरोकपको उपाधि जित्ने मौका गुमाएको छ ।

Categorized in स्पाेर्ट्स