arin enterprises

विवादकाबीच “इतुंबाहाः म्यूजियम” उद्घाटन

SamacharDesk – राम डंगोल | २०८० श्रावण १३, शनिबार

काठमाडौंको इतुम्बाहाःमा निर्मित “इतुंबाहाः म्यूजियम” शनिबार एक कार्यक्रमकाबीच उद्घाटन भएको छ ।

संग्रहालयको उद्घाटन पूर्व मेयर विद्यासुन्दर शाक्य तथा बागमती प्रदेश सभासद सैलेन्द्रमान बज्राचार्यले गर्नुभएको छ । इतुम्बाहाःस्थित केशचन्द्र महाविहारलाई काठमाडौंको सबभन्दा पुरानो र महत्वपूर्ण महायान बौद्ध महाविहार मानिन्छ । संग्रहालय अमेरिकाको न्युयोर्कस्थित रूबिन म्युजियमसँगको सहकार्यमा खुलेको बताइएको छ ।

११औं शताब्दीतिर स्थापना भएको इतुंबहाः काठमाडौं उपत्यकामा रहेका १८ महायान बौद्ध महाविहारमध्ये सबैभन्दा पुरानो र महत्वपूर्ण विहार हो । संस्कृत भाषामा यसको वास्तविक र पूरा नाम श्री भास्करदेव संस्कारिता केशचन्द्र कृत परवर्ता महाविहार हो । यो विहारलाई राजा भाष्करदेवका छोरा केशचन्द्रले निर्माण गरेको मानिन्छ ।

उक्त महाविहार संरक्षक अध्यक्ष प्रज्ञारत्न शाक्यका अनुसार करिब दुई वर्षदेखिको अथक प्रयासपछि इतुम्बहाः म्युजियमको स्थापना गर्न सफल भएको बताउँछन् । उहाँले यसलाई नेपालको पहिलो विहार संग्रहालय हो भन्दा अत्युक्ति नहोला भनी उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

म्युजियम बनाउन रूबिनसँगै लुम्बिनी बौद्ध विश्वविद्यालयको म्युजिलियोजी एन्ड बुद्धिस्ट कलेक्सन प्रोग्रामसँग पनि सहकार्य गरेको बताएको छ । तर संग्रहालय खोल्न लागेकोमा शुक्रबारदेखि नै स्थानीय एवं अभियानकर्ताहरुले विरोध जनाउँदै आएका छन् ।

उनीहरुका अनुसार विहारको ढुकुटीमा राखिएका गोप्य सम्पदा अवलोकनका लागि बनाइएको प्रदर्शनी कक्ष निर्माणमा एक अमेरिकी संग्रहालयले आर्थिक सहयोग आपत्तिजनक रहेको छ । जसले हाम्रो गोप्य तथ्यहरु बाहिरिने स्थानीय तथा अभियन्ताहरुको कथन छ । 

उनीहरुका अनुसार रूबिनले सहयोगका रूपमा २० हजार अमेरिकी डलर दिने भएपछि इतुम्बहाःमा संग्रहालय खोल्न लागेको बताउँछन् । उनीहरुले जीवित सम्पदाको रूपमा रहेको महाविहारमा संग्रहालय खोल्दा वर्षौंदेखि चल्दै आएको पूजाआजा र संस्कार प्रभावित हुने तथा विदेशी हस्तक्षेप बढेको बताएका छन् ।

 अभियन्ताहरुका अनुसार इतुम्बहाः ग्रहालयमा बहाःकै संग्रहमा रहेका सामग्री अनि रूबिन र अमेरिकामै रहेको मेट्रोपोलिटन म्युजियम अफ आर्टसबाट फिर्ता आएको टुँडाल राख्ने योजना छ । इतुम्बहाःमा रहेका सामग्रीहरू अभिलेखीकरण गर्दा करिब पाँच सयवटा फेला परेका थिए । तीमध्ये एक सय ५० वटा मात्र ग्रहालयमा राखिने छन् ।

नेपालबाट हराएका तथा चोरी भएका मूर्ति र कलाकृति पहिचान गरी स्वदेश फर्काउने कार्यमा अग्रसर ‘नेपाल सम्पदा पुनर्जागरण अभियान (एनएचआरसी)ले शुक्रबार एक विज्ञप्ति निकालेर विरोध जनाउनुको कारण सार्वजनिक गरेको थियो ।

अभियानका अध्यक्ष रिद्धिबाबा प्रधानले निकालेको विज्ञप्तिमा ‘रुबिन आर्ट अफ म्युजियम’ जस्ता पश्चिमा ग्रहालयले अन्य देशका जीवन्त स्कृतिको रूपमा रहेका कलाकृति, मूर्ति लगायतका सम्पदालाई एकत्रित गरी प्रदर्शनीको नाममा ‘हराएका मूर्तिको बजार बनाएको’ उल्लेख छ ।

अभियानकर्ताहरुले रुबिन विरुद्ध “रुबिन गो ब्याक” अभियान नै चलाएको छ । उक्त अभियानले जारी गरेको जानकारी अनुसार काठमाडौं उपत्यकाका रैथाने वासिन्दाले आफ्नो  हरेक दिन सामुदायिक सांस्कृति अभ्यासको अंग बनाउँदै सयौं वर्षदेखि आफै जोगाउँदै आएको जीवन्त धरोहरलाई निर्जिव संग्रहालयका रुपमा खुम्चाउने प्रयास गरेको आरोप लगाएको छ ।

त्यस्तै नेपालबाट चोरेर लगिएका दर्जनौं मूर्ति र कलाकृतिहरु राखेको रुबिनजस्तो विश्वभर विवादास्पद म्युजियम, जसले इतुंबहाः महाविहारबाटै चोरिएको सामग्री केही समय अघि मात्र यहाँबाट अभियन्ता र पुरातत्व विभागले पत्राचार गरेर कानूनी रुपमा मागेपछि र चर्काे सार्वजनिक दबाबपछि फर्काउनु परेको थियो, उसैलाई यो कार्यमा किन संलग्न गराउनुप¥यो ?

आफूसँग भएका नेपालका बाँकी कलाकृति नफर्काई अहिले उल्टो उही नै ससम्मान संरक्षकर्ताजस्तो देखिंदै आफूले नेपालमा पहिलो विहार म्युजियम खोल्न लागेको घोषणासहित आएको यो निकायलाई किन स्वागत गर्नुपर्ने ? भन्दै विरोध जनाउँदै आएका छन् ।

तसर्थ रुबिन ग्रहालयको छवि स्वच्छ नभएकाले त्यो सहयोगसँगै नेपालका विहारको प्राचीन सम्पदामाथि सांस्कृतिक हस्तक्षेप हुने भन्दै सम्पदा संरक्षणकर्मी र स्थानीय बासिन्दाले विरोध जनाएको छ ।

यता सहयोग विवादित बनेपछि काठमाडौँ महानगरले यसमा चासो देखाएको छ । महानगर प्रमुख बालेन शाहले पनि अभियन्तासँग सम्पर्क गरेर संग्रहालयलाई महानगरले सहयोग नगर्ने बताएका छन् ।

Categorized in समाज