arin enterprises

आज देशैभरि जनै पुर्णिमा मनाईँदै

SamacharDesk – बिकाश | २०७७ श्रावण १९, सोमबार

आज श्रावण पुर्णिमा, देशैभरीका हिन्दु धर्मावलम्बीहरु जनै पूर्णिमा मनाउँदैछन् ।

आजको दिन नेपाली हिन्दु परंपरा अनुसार ब्रामण क्षेत्री लगायतका तागाधारीहरु जनै फेर्ने गर्दछन । हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँहातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ ।

जनै फेर्नका लागि हिजैदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीहरुले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् ।

स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । 

ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।

वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । 

जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । 

अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।

यसैगरी आज गुरु पुरोहितको हातबाट रक्षा वन्धनको रुपमा डोरो पनि बाँध्ने गरिन्छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलिआएको विश्वास गरीन्छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।

आजको दिन डोरोा बाँध्नको साथै नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत विभिन्न नदीको किनार र मठ मन्दिरमा भक्तजनको घुइँचो नै लाग्ने गर्दछ । यस वर्ष कोरोना संक्रमणका कारण भीड कम गर्न सरकारले आह्वान गरेको छ ।

आजकै दिन तराईको साथै भारतमा दिदीबहिनीले दाजुभाईलाई राखी बाँधिदिने गर्छन् भने नेवार समुदायमा क्वाति पकाएर खाइ गुंपुन्हि मनाइन्छ ।

Categorized in संस्कृति