‘झीगु सः’ को २०० एपिसोड पूरा
SamacharDesk – मिलिन्दकाजी राजाेपाध्याय | २०८१ भाद्र २९, शनिबार
बागमति प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले नेपालभाषाको साथमा नेवाः संस्कृति, सभ्यताको संरक्षणमा नेवाः संचार क्षेत्रको भूमिकाको प्रशंसा गरेका छन् ।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै श्रम रोजगार तथा यातायात मन्त्री महर्जनले काठमाडौं उपत्यकाको स्थानीय भाषा, संस्कृति, सभ्यताको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेवाः संचार क्षेत्र र संचारकर्मीको भूमिकाको प्रशंसा गरेका हुन् ।
‘धेरै हराएका मूर्त, अमूर्त संस्कृति, सम्पदाहरुको बारे स्थानीय संचारकर्मीहरुले समाजलाई थाहा दिएका छन् । यसको खोजी, प्रचार प्रसार आदिमा यहाँका स्थानीय संचार क्षेत्र र संचारकर्मीले जुन भूमिका खेलिरहेको छ, त्यो प्रशंसनीय छ’ मन्त्री महर्जनको भनाई हो ।
सीमित श्रोत साधन र जनशक्तिका बीच मातृभाषा माध्यमबाट संचालित संचारमाध्यमहरुलाई राज्यबाट सुविधा दिलाउन आफुले पहल गर्ने प्रतिवद्धता पनि मन्त्री महर्जनले व्यक्त गरे ।
एबिसि टेलिभिजनमा प्रसारण भइरहेको नेपालभाषाको कार्यक्रम ‘झीगु सः’ को २०० एपिसोड पूरा भएको अवसरमा ललितपुरमा कार्यक्रमको आयोजना गरीएको थियो ।
सोही कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट प्रसारण भएको नेपालभाषाको पहिलो टेलिभिजन कार्यक्रम ‘हसना’ का कार्यक्रम संचालक बिराजकाजी राजोपाध्याय र कार्यक्रम संचालिका मीना बज्राचार्यलाई सम्मान गरिएको थियो ।
२५ वर्ष अघि नेपाल सम्वत १११९ मा नेपाल टेलिभिजनमा नेपालभाषाको कार्यक्रम हसना प्रसारण भएको थियो ।
सांग्रिला च्यानल डेटिभिमार्फत नेपाल टेलिभिजनको पर्दामा ४८ एपिसोडसम्म प्रसारण भएको हसना कार्यक्रम स्याटेलाइटमार्फत प्रसारणमा गएको पहिलो नेपालभाषा कार्यक्रम पनि हो ।
यसै कार्यक्रममा निर्माता, निर्देशक विजयरत्न तुलाधरले नै वर्तमान समयमा झीगु सः कार्यक्रमको निर्माण गरिरहेका छन् ।
कार्यक्रम निर्माता तुलाधरले सबैको साथ र सक्रिय भूमिकाकै कारण आजसम्म आइपुग्न सफल भएको बताए ।
‘डिकोडरमार्फत प्रसारण हुने सांग्रिला च्यानलमा हाबलासा, नेपाल टेलिभिजनमा सांग्रिला च्यानल डेटिभिमार्फत प्रसारित हसनादेखि आजको दिनमा झीगु सःसम्म आइपुग्नुमा धेरैको भूमिका छ । आज म सबैको सक्रिय भूमिका र योगदानलाई सम्झिरहेको छु’ तुलाधरले भने ।
झीगु सः २०० एपिसोड प्रसारणको उत्सव कार्यक्रममै रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक अमर ध्वज लामालाई बधाईसहित सम्मान गरिएको थियो ।
साथमा कार्यक्रम निर्माणमा विभिन्न ढङ्गबाट योगदान दिइरहेका प्राविधिक एवम् सहयोगीहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक लामा, नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले लगायतले शुभकामनासहित आआफ्ना विचार राखेका थिए ।
कार्यक्रम आयोजक लहना मिडियाका व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले नेपालभाषा माध्यममा संचालित विभिन्न संचारमाध्यमहरु एकजुट भई अघि बढ्न आग्रह गरे ।
Categorized in समाज