महामारीको अवस्थामा युवा दक्षताको आवश्यकता
SamacharDesk – शिवेश शर्मा | २०७७ आषाढ ३१, बुधबार

आज जुलाई १५, विश्व युवा दक्षता दिवस । विश्वभरीमा कोरोना महामारीका अवस्था र यस्तै अवस्थामा यस वर्षको विश्व युवा दक्षता दिवस ।
सन् २००४ मा संयुक्त राष्ट्रिय संघको साधारण सभाले युवाहरुमाझ देखिएको वेरोजगारिलाई मध्यनजर गर्दै दक्ष युवाहरुको योगदानलाई उच्च प्राथमिकतामा राख्दै यो दिवस मनाउन थालिएको हो ।
युवाहरुले प्राविधिक, व्यावसायिक संस्थानमा आबद्ध भई, सार्वजनिक, सरकारी तथा निजी क्षेत्रमा आफ्नो सीपको प्रयोग गरी देश र मानव समाजलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरि आएको योगदानको कदर गर्दै यो दिवस मनाउने गरिएको हो ।
हाल विश्वभर कोरोना भाईरसको महामारी फैलिरहँदा भने समाधानको बाटोतर्फ युवाहरुको सीप र दक्षताको ठुलो खाँचो देखिएको छ ।
अहिले प्राय पुरा विश्व भौतिक वा सामाजिक दुरी कायम गर्दै प्रविधिकै माध्यमबाट नजिकिँदै दैनिक क्रियाकलापहरु गर्नुपर्ने अवस्था आएको छ । प्रायः सबै किसिमका कार्यहरु अहिले अनलाइन मार्फत नै भइरहेका छन् ।
भौतिक रुपमा हुने गरेको भेला, सभा, समारोह, सेमिनार जस्ता कार्यक्रमले पनि अहिले भच्र्युअल रुप लिन थालेको छ । वैकिङ्ग कारोवार, शेयर बजार जस्ता आर्थिक गतिविधि देखि लिएर स्कूलका कक्षाहरु र मन्त्रीपरिषद्को बैठकसम्मका क्रियाकलाप पनि अनलाइन हुन थालेका छन् ।
भौतिक दुरीको अवस्थामा सारा विश्वलाई जोड्न सफल बनेको फेसबुकको शुरुवात गर्दा मार्क जुकरवर्ग मात्र १९ वर्षका ठिटा थिए । अहिले पनि उनी मात्र ३६ वर्षका त भए ।
अहिलेको महामारीको अवस्थामा प्रविधिको यो विकास हामीसँग नभएको जीवन कसरी चल्थ्यो, कल्पना गर्न पनि निकै गार्हो छ ।
प्रविधिको यो विकासमा पनि दक्ष युवा जनशक्तिको विशेष योगदान रहेको हामीले विर्सिनुहुन्न । श्रृजनशीलता, कार्य सम्पादन, योजना, योजनाको कार्यान्वयन पक्षमा युवा पुस्ताको प्रशंसा गर्नैपर्छ ।
अहिलेको महामारी नियन्त्रण र रोकथामका लागि समेत युवाहरुको विचार र योजना सुनेमा, युवाहरुको योजनालाई कार्यक्षेत्रमा लगाइएमा यसले राम्रै नतिजा ल्याउनेमा आशावादी हुन सकिन्छ ।
Categorized in विचार