arin enterprises

कसले पाउला ज्यापु महागुथि महानगर समितिको नेतृत्व

SamacharDesk – बिराज | २०७८ पौष २३, शुक्रबार

अहिले काठमाडौंको ज्यापु समुदाय अधिवेशनको माहौलमा तात्तिएको छ । ज्यापु महागुथिको भोलि शनिबारबाट शुरु हुन गइरहेको ज्यापु महागुथि काठमाडौं महानगर समितिको अधिवेशनले अहिले माहौल तात्तिएको छ ।

महागुथिको अधिवेशनको क्रममा शनिबार र्‍यालीको साथमा उद्घाटन सत्र पनि हुन लागेको छ भने आइतबार बन्द सत्र हुँदै नयाँ नेतृत्व चयनको लागि प्रकृया अघि बढ्नेछ ।

नयाँ नेतृत्वको सवालमा विशेष गरी दुई जना प्रत्याशीको नाम अगाडी रहेको छ ।

काठमाडौंको ६३ टोलको प्रतिनिधित्व रहेको महागुथि महानगर समितिमा अध्यक्ष पदमा गोफः टोलका पञ्चनारायण महर्जन र पूर्व केन्द्रीय महासचिवको साथमा काठमाडौं महानगरपालिका १८ वडाका अध्यक्ष न्हुछेँकाजी महर्जन अध्यक्ष पदका दावेदारको रुपमा अगाडी आएका छन् ।

केन्द्रीय समितिमै महासचिव बनिसकेका न्हुछेँकाजीले महानगर समितिलाई अझ सबल र सुदृढ बनाउन आफुले समितिको नेतृत्व लिन खोजेको बताउनुभएको छ ।

‘केन्द्र वा महानगर, तल्लो वा माथिल्लो समिति भन्ने कुरा रहेन । मुख्य रुपमा संगठनलाई बलियो बनाउने हो । महानगर समितिमा सबल र सक्षम नेतृत्वको विकास गर्न मैले उम्मेदवारी दिन खोजेको हो’ न्हुछेँकाजीले भने ।

ज्यापु महागुथि र श्री ज्यापु महागुथिको नामबाट ज्यापु समुदायमा दुईवटा संगठन रहेको अवस्थामा दुवै संस्थाको एकिकरणको लागि आफु केन्द्रमा गएको र अब महानगरमा फर्किन लागेको उहाँले बताउनुभयो ।

त्यस्तै पञ्चनारायणले नेवार समुदायमा सबैभन्दा बढि संख्यामा र विभिन्न साँस्कृतिक, सामाजिक गतिविधिमा समेत महत्वपूर्ण भूमिकामा रहेका ज्यापु समुदाय अपेक्षित रुपमा अगाडी आउन नसकिरहेको अवस्थामा आफुले नेतृत्व लिन खोजेको बताउनुभयो ।

‘ज्यापु समुदायले पनि यथोचित स्थान पाउन नसकिरहेको अवस्था र नेवाः समुदाय पनि राज्यबाट उपेक्षित रहेको अवस्थामा छ । नेवाः समुदायमा विभिन्न जातीय समाजसँग पनि सहकार्य गर्दै ज्यापु समुदायको साथै नेवाः समाजकै उत्थानमा लाग्ने मेरो योजना छ’ पञ्चनारायणले भने ।

समाचारडेस्कसँग कुराकानीको क्रममा अध्यक्षका दुवै प्रत्याशीले सामुहिक नेतृत्वमै जोड दिए । सामूहिक सहकार्य र नेतृत्वबाटै आफुहरु अघि बढ्ने पञ्चनारायण र न्हुछेँकाजीले बताए ।

Categorized in समाज