arin enterprises

लकडाउनले रोकेन श्रीनिवास मल्लको सिंहासनलाई

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ २३, शुक्रबार

आज ललितपुरको ऐतिहासिक मंगलबजारको शान छुट्टै थियो । अरु बेलामै ऐतिहासिक वैभवले ठडिने मंगलबजारको शिर आज श्रीनिवास मल्लको सिंहासनले झनै शोभायमान बनेको थियो ।

आज जेष्ठ शुक्ल पुर्णिमा अर्थात ज्याः पुन्हि । हरेक वर्ष झैं आज ललितपुरको मंगलबजारमा ललितपुर राज्यका तत्कालीन राजा श्रीनिवास मल्लको राजसिंहासन यस वर्ष पनि प्रदर्शन गरियो ।

हरेक वर्ष ज्याःपुन्हिको दिन पाटन संग्रहालयबाट सिंहासन ल्याई कृष्ण मन्दिरको पेटीमा प्रदर्शन गर्ने परम्परा रहेको छ । यस वर्ष लकडाउनले पनि ऐतिहासिक परम्परालाई रोकेन ।

तर विगतका वर्षहरुमा झैं यस वर्ष झकिझकाउ भने हुन सकेन । महामारी र संक्रमणको जोखिमलाई मध्यनजगर गरेर यस वर्ष कार्यक्रमलाई छोट्याइएको थियो ।

अन्य वर्षहरुमा बिहानै संग्रहालय खोली पाटन संग्रहालय, पुरातत्व विभाग र गुठी संस्थानका प्रतिनिधिको उपस्थितिमा सिंहासन बाहिर ल्याई कृष्ण मन्दिरको पेटीमा राखिन्थ्यो ।

यसरी सिंहासन मंगलबजारमा प्रदर्शनीमा राखिँदा आम सर्वसाधारण सिंहासनको पूजा साथै दर्शन गर्न पुग्ने गर्दछन् ।

जेष्ठ पूर्णिमाका दिन नागहरु घाम ताप्न आउँछन् भने जनविश्वास रहेको छ । त्यसैले पनि नागको स्वरुप पनि कुँदिएको सिंहासन आजको दिनमा प्रदर्शन राख्ने गरिएको कथन छ । 

नागहरु बाहिर निस्केसँगै वर्षा हुने जनविश्वास अद्यापि समाज रहेको छ ।

सिंहासनसंगै श्रीनिवास मल्लका बुवा राजा सिद्धिनरसिंह मल्लद्वारा लिखित ३२ वटा छुट्टाछुट्टै राग सहित भजन कोरीएको पौभाः (कपडामा कोरिएको गितीचित्रको तस्बिर) समेत राखिन्थ्यो । 

पौभाःमा लेखिएको सोही गीत दिउँसो खिंसहित भजनको रुपमा गाइन्थ्यो । भजन सकिएपछि मात्र सिंहासनलाई पुनः पुरानै स्थानमा राख्ने लग्ने परम्परा हो ।

 

यति गरिसक्दा करीब सुर्यले अस्ताउन अनुमति माग्न शुरु भइसक्थ्यो ।

यसवर्ष भने त्यस्तो हुन सकेन । कोरोनाभाइरसको विश्वव्यापी महामारी र देशमा जारी लकडाउनका कारण आज कार्यक्रम अलि छोट्टियो । 

आज विहान १०ः३० बजेपछि मात्र सिंहासन तल ल्याइएको थियो । पौभाः भने अलि पछि मात्र ल्याइयो ।

सिद्धिनरसिंह मल्लको गीत पनि छोटो समय मात्रै गाएर कार्यक्रम सम्पन्न गरियो ।

श्री निवास मल्लको शासनकालमा, पाटनको ओकुवाल टोलमा आयोजना गरिएको वौद्धधमावलम्बीहरुको पञ्चदान पर्वमा राजालाई महाबोधिगृहका जोधाजुले पिण्डपात्र दान गरी कदम्बवृक्षसहितको सुनको सिंहासन चढाएको ईतिहास छ । 

जनताबाट राजालाई सुम्पेको सिंहासन जतनका साथ रहेको प्रमाण दिन ज्याःपुन्हिका दिन जनता समक्ष यसरी सिंहासन प्रदर्शनमा राख्ने गरिएको ईतिहासविद्हरुले भनेका छन् ।

 

मेघमल्हार भजन दिउँसो नै सम्पन्न गरीयो 

राजा सिद्धिनरसिंह मल्लले रचना गरेका मेघमल्हार रागमा आधारीत गीतहरु गाएपछि पानी पर्ने जनविश्वास छ । 

‘पहिला पहिला त द्यः ल्हाये गरेपछि (सांगितिक गतिविधि शुरु गर्नु अघि नाथेश्वरको आराधना गरी बजाइने) ठुलै पानी पथ्र्यो । पाल राख्न विस्र्यो भने त चार नारायणको मन्दिरमै गएर ओत लाग्न जानुपथ्र्यो’ स्थानीय रागविद् रामकृष्ण ताम्राकारले भने ।

यी गीतहरुमध्ये ‘ल्हायमसया’, ‘आरती दान विधान’ आदि खिं, तिन्छु, झ्याली, काहा बाजा (नरसिंहा जस्तो तर सिधा लामो फुकेर बजाइने बाजा) ताल सहित राग लिई गाइएको थियो । 

यस अवस्थामा पूरा पाटन दरवार क्षेत्र नै गुञ्जयमान थियो । 

यस्तो अवस्थामा मानिसहरु धेरै भिड हुने परिस्थिति श्रृजना हुन लाग्दा पूरा ३२ वटै भजन नगाई केही भजन मात्र गाई अन्त्यमा आरती गरी सकाइएको थियो ।

यस वर्ष भने दिउँसो २–साढे २ बजे नै भजन सकी सिंहासन संग्रहालयमा फिर्ता लगिएको थियो ।

Categorized in संस्कृति