छायाँ कम्प्लेक्स र कमलपोखरीसम्वन्धि नेपाल सरकारको भनाईप्रति अभियानकर्मीहरुको आपत्ती
SamacharDesk – बिराज | २०७८ आषाढ २३, बुधबार

ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानले छाँया सेन्टर निर्माणका कारण आदिवासी नेवाः समुदायको धार्मिक प्रथामा प्रभाव नपरेको भन्ने नेपाल सरकारको भनाईप्रति आपत्ती जनाएको छ ।
अभियानले प्रेस विज्ञप्ती जारी गर्दै छायाँ सेन्टर निर्माणका कारण स्थानीय नेवाः समुदायको धार्मिक प्रथामा कुनै प्रभाव नपरेको नेपाल सरकारको भनाईप्रति आपत्ती जनाएको हो ।
स्वीजरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदका मानव अधिकार र आदिवासी अधिकार सम्बन्धी अनुगमन गर्ने चार जना स्वतन्त्र विज्ञहरुले सन् २०२१ मार्च ३० मा नेपाल सरकारलाई पत्र लेख्दै ठमेलमा छाँया सेन्टर निर्माणका कारण स्थानीय नेवाः समुदायको धार्मिक प्रथामा परेको असरबारे जानकारी मागेको थियो ।
सोही पत्रको जवाफमा नेपाल सरकारले नेवाः समुदायलाई ठमेल विहार, कमलपोखरी र वरपरको क्षेत्रमा धार्मिक प्रथा अभ्यास गर्न रोकेको छैन भनी गैरजिम्मेवारीपूर्ण र झुटो जवाफ पठाएको भन्दै अभियानले आपत्ती जनाएको हो ।
‘यस अभियान सरकारको त्यस्तो जवाफको घोर भत्सर्ना गर्दै सरकारलाई छाँया सेन्टर निर्माणको कारण आदिवासी नेवाः समुदायको अधिकार उल्लङ्घन भएको अवस्थाप्रति गम्भीर भई सरकारको जवाफ सच्याउन र स्थानीय समुदायलाई न्याय दिलाउन पुरातात्विक कमलपोखरी पुनःस्थापना गर्न ठोस कदम चाल्न माग गर्दछ’ अभियानका अध्यक्ष भागवत नरसिंह प्रधानबाट हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ ।
नेपाल सरकारले प्रत्युत्तरमा लेखेको पत्रमा मे ३१ तारिखमा केही ठोस जानकारी नदिई जिम्मेवारीबाट पन्छिने किसिमको मात्र जवाफ पठाएको अभियानको ठहर छ ।
सरकारले काठमाडौँ–तराई÷मधेश दूर्तमार्ग परियोजना र छाँया सेन्टर ब्यापारिक कम्प्लेसको सम्बन्धि संयुक्त रुपमा जवाफ दिंदै ठमेल विहार, कमलपोखरी र वरपरका क्षेत्रहरुमा नेवाः समुदायको धार्मिक प्रथाको अधिकारको अभ्यास गर्न नरोकेको भनी जवाफ दिएको बुझिएको छ ।
‘कमलपोखरी र आसपासका सम्पदा पूर्णतः मासेको बारेमा जानकारी हुँदाहुँदै पनि ‘धार्मिक प्रथाको अभ्यास गर्न रोकेको छैन’ भन्ने जस्तो निर्लज्ज जवाफ अरु के हुन सक्छ र ?’ विज्ञप्तीमा लेखिएको छ ।
उक्त जवाफ पत्रलाई लिएर संयुक्त राष्ट्रसंघिय मानव अधिकार परिषदद्वारा नेपाल सरकारलाई उचित निर्देशनसहित पुनःपत्र लेख्ने विश्वास अभियानले व्यक्त गरेको छ ।
हाल ठमेलमा छाँया कम्प्लेस रहेको स्थानमा विगतमा नेवाः समुदायको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक आस्था बोकेको सम्पदा कमलपोखरी रहेको बताइएको छ ।
ठमेलस्थित विक्रमशील महाविहारमा अवस्थित श्री गरुड भगवानलाई सोही कमलपोखरीको पानीले अभिषेक गराई सोही पोखरीको कमलको फुल चढाउने परम्परा रहेको भनाई छ ।
अदालती मुद्दा प्रक्रियामा विचाराधीन हुँदाहँुदै पैसा र पहुँचको भरमा कमलपोखरी पूर्णतः मासेर छायाँ कम्प्लेक्स बनाइएको भन्दै अभियानले ऐतिहासिक, साँस्कृतिक सम्पदा कमलपोखरी पुनःस्थापना गर्न माग गर्दै आएको छ ।
