काष्ठमण्डपको बुसादँ (स्थापना दिवस) मनाईयो
SamacharDesk – राम डंगोल | २०८१ माघ १, मंगलबार

काठमाडौंको मरुस्थित काष्ठमण्डपको स्थापना दिवस मनाईएको छ ।
सातौं शताब्दी अगाडी निर्माण भएको मानिंदै आएको काष्ठमण्डपलाई नेपाल भाषामा मरुसतः बुसादँ भनेर स्थापना दिवस मनाईंदै आएको छ ।
भीमसेनस्थानका महर्जन समुदायले हरेक वर्ष माघे संक्रान्तिका दिन यस स्थानमा पूजा गरेर स्थापना दिवस मनाईंदै आएको छ । पूजापश्चात गाईलाई ३२ माना गहुँ र कालो भटमास समेत खुवाउने चलन छ ।
सो अवसरमा काष्ठमण्डपको गजुरमा झण्डा फहराएर गजुरबाटै यमरी र चतांमरी फ्याँकेर प्रसाद वितरण गरिएको थियो ।
स्थानीय न्हुछे नारायण महर्जनका अनुसार तेल र नुनको भाउ एउटै भएपछि मात्र काष्ठमण्डपको विधिवत् रुपमा स्थापना भएको मानिन्छ ।
तत्कालिन समयका तान्त्रिकाचार्य सिद्ध लिलावज्रले एउटै रुखको काठबाट काष्ठमण्डप बनाएको विश्वास गरिन्छ । २०७२ सालको महाभुकम्पमा क्षतिग्रस्त भएको काष्ठमण्डपको पुनःनिर्माण गरिएको हो ।
Categorized in समाज