काष्ठमण्डप पुननिर्माण सम्पन्न प्रतिवेदन महानगरपालिकालाई बुझाइयो
SamacharDesk – बिराज | २०८० आश्विन १७, बुधबार

काष्ठमण्डप पुनर्निर्माण समितिले काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाएको छ ।
समितिका अध्यक्ष राजेश शाक्यसहित पदाधिकारीले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई प्रतिवेदन बुझाएका हुन् ।
पुनर्निर्माणसँग सम्बन्धित सहमति, नक्सा, प्राविधिक मूल्याङ्कन, आर्थिक विवरण प्रतिवेदनमा समावेश गरिएको छ ।
प्राप्त प्रतिवेदन अध्ययनका लागि सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ शाक्यलाई प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, विभागबाट प्रतिवेदन अध्ययन भएपछि छलफलका लागि सम्पदा पर्यटन समितिमा लगिने बताए ।
यसपछि प्रमुख, उपप्रमुखसमक्ष छलफलका लागि प्रतिवेदन लगिने र काष्ठमण्डप खुला गर्ने विषयमा पनि छलफल हुने अधिकारीले जानकारी दिए ।
प्रतिवेदन बुझाउँदै समितिका अध्यक्ष शाक्यले, महालेखा परीक्षकले औंल्याएका विषयलाई मध्यनजर गर्दै आर्थिक विवरण पेश गरिएको जानकारी दिनुभयो ।
शाक्यका अनुसार महानगरपालिकाबाट उपलब्ध गराइएको ११ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको र काम भइसकेको भुक्तानी गर्न अब ३६ लाख ८६ हजार रुपैयाँ बाँकी छ ।
महानगरपालिकाले काष्ठमण्डपको साँचो बुझेर भुक्तानी प्रक्रिया अगाडि बढाइदिनको साथै काष्ठमण्डपलाई नियमित सञ्चालन र संरक्षण गर्न, खुृल्ला गर्नका लागि काष्ठमण्डपलाई भौतिक रुपमा जिम्मेवारी स्वीकार गर्न शाक्यले आग्रह गरे ।
२०७२ सालको भूकम्पले काष्ठमण्डप पूर्ण क्षति भएको थियो ।
यसको पुननिर्माणका लागि २०७५ साल वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको भेलाको निर्णयबाट तत्कालीन प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भएको थियो ।
२०७५ ज्येष्ठ २९ गते महानगरपालिका र समिति बिच काष्ठमण्डप पुननिर्माणका लागि सम्झौता भएको थियो भने सम्झौता भएकै दिन काम थालनी गर्न समितिलाई ५० लाख रुपैयाँ प्रदान गरिएको थियो ।
त्यसपछि ०७५ असोज २७ गते ५ करोड रुपैयाँ, ०७६ माघ ९ गते ५ करोड रुपैयाँ र ०७८ असार १६ गते १ करोड रुपैयाँ उपलब्ध गराइएको थियो ।
पुनर्निर्माण सम्पन्न भएपछि २०७८ चैत २१ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको लोकार्पण गरेकी थिइन् । काष्ठमण्डपको लोकार्पण पछि भने मूर्तिको विषयमा विवाद उठेर अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ ।
काष्ठमण्डप पुननिर्माण सकिएपछि अहिले करिब ६७ लाख रुपैयाँ बराबरका काठलगायत सामग्री बाँकी रहेको समितिले जानकारी दिएको छ ।
Categorized in स्थानीय