सडक सजाउँदै काठमाडौँ महानगर, सरसफाईमा सक्रिय नगर प्रहरी
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ बैशाख ३०, मंगलबार

विभिन्न खाले माग राख्दै माइतिघर मण्डला र त्यस वरीपरीका क्षेत्रमा लकडाउनका बेला पनि भिडभाड हुने गर्थ्यो । मंगलबार भने त्यहाँ एक हुल नगर प्रहरी देखिए ।
तर, उनीहरु त्यहाँ आन्दोलनका लागि नभई सडकको दायाँ–बायाँ किनारा र बीचका बढेका बोटबिरुवाको हाँगा छाँटकाट गर्ने, झार उखेलेर सडकलाई चिटिक्क बनाउने अभियान जुटेका थिए ।
लकडाउन सुरु भएसँगै कोरोना संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, पानीले सडक पखाल्ने, बु्रमरले सडक सफा गर्ने जस्ता कार्य गर्दै आएको काठमाडौँ महानगरपालिकाले थालेको यो अभियानमा मंगलबार करीब ४० जनाको हाराहारीमा नगर प्रहरी सामाजिक दुरी कायम गर्दै सरसफाई अभियानमा सक्रिय भए ।
लकडाउनसँगै सडक किनारा र बीचका बोटबिरुवाको हाँगा बढेर सडकको सौन्दर्य विगारेपछि हाँगा छाँटकाट गर्ने, झार उखेल्ने, मरेका बोट–विरुवा उखेल्ने जस्ता कामको थालनी गरेको नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिनुभयो ।
‘पहिलो चरणमा अरनीको राजमार्ग अन्तर्गत माइतीघर मण्डलादेखि तीनकुनेसम्मको क्षेत्रमा पर्ने सडकको दायाँ–बायाँ किनारा र बीचमा बढेका बोटबिरुवाको हाँगा छाँटकाट गर्ने, झार उखेल्ने र सडकको सौन्दर्यलाई कायम राख्ने योजनाका साथ अघि बढेका छौँ,’ सापकोटाले भन्नुभयो । ‘अबका दुई–तीन दिन भित्र तीनकुनेसम्म क्लीयर गर्ने योजना छ ।’
सापकोटाले लकडाउनको अवधिमा सडकहरु बेवारिसे छाड्दा सहरी सौन्दर्य नै विग्रिने भएकाले सरसफाईको कामलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।
उहाँले पहिलो दिनमै छाँटकाँट गरेका हाँगा–विंगा र भुँईको झार उखेल्दा निस्किएको नौ ट्रिपर फोहोर टेकु पठाएको जानकारी दिनुभयो । ‘बगैँचामा काम गर्ने केही साथीहरुले हाम्रा प्रहरीहरुलाई सिकाउनु भयो । उहाँहरुको निर्देशन अनुसार सामाजिक दूरी कायम गर्दै उहाँहरुले काम गर्नुभयो ।’
यस अघि सहरलाई नै कुरुप बनाउने गरी जथाभावी राखिएका १३ हजार भन्दा बढी साना बोर्ड, ४४ वटा ठूला होर्डिङबोर्ड हटाइसकेको पनि सापकोटाले बताउनुभयो । ‘हामीले ९ मिटरमाथिको सडकका सबै होर्डिङबोर्ड क्लीयर गरेका छौँ । अब साना सडकमा छिर्छौ ।’
Categorized in स्थानीय