arin enterprises

आफ्नो कार्यकालमा धेरै सम्पदाको पुनर्निर्माण भएको मेयर शाक्यको दावी

SamacharDesk – समाचारडेस्क | २०७८ माघ २७, बिहिबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा काठमाडौंको विकासका लागि महानगर लागि रहने प्रतिवद्धता जनाएका छन् ।

बिहीबार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन् ।

मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरुको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताएका छन् ।

उनले रानीपोखरीको केही काम बाँकी रहेकोले काम सम्पन्न हुनासाथ सर्वसाधारणका लागि खुला गर्ने पनि बताए । स्थानीय निर्वाचनको एक प्रसंगमा उहाँले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा मेयर पदमा पुनः आफ्नो दाबेदारी रहने उनले बताए ।

मेयर शाक्यले भने, “आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यक्ताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो ।”

मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताए ।

उनले महानगरको नीति अनुसार आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने बताए ।

Categorized in समाज