‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन
SamacharDesk | २०७९ चैत्र २, बिहिबार

काठमाडौं उपत्यकाका २१ वटै पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको सञ्जाल ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख (उपप्रमुख) सुनिता डंगोलको संयोजकत्वमा अध्यक्षतामा बालाजु बाइसधाराको सभा कक्षमा बसेको बैठकले सञ्जाल गठन गरेको हो ।
सञ्जालले एक विज्ञप्ति प्रकाशित गरी उक्त कुराको जानकारी दिएको छ । विज्ञप्तिमा उपप्रमुख—उपाध्यक्षका कामका सम्बन्धमा समान बुझाइ विकास गर्न, कार्य प्रणालीमा एकरुपता ल्याउन, साझा सवालमा सहकार्य तथा समन्वय गर्न, असल अभ्यास र सिकाइ आदान प्रदान गर्न, समस्या र चुनौती सामना गर्न साझा निर्माण गर्ने उद्देश्यले सञ्जाल निर्माण गरिएको हो । सञ्जालले सामुहिक प्रयत्नमा क्षमता विकास र कानुनी तथा संस्थागत विकासको प्रबन्धमा सहकार्य गर्नेछ, भनिएको छ ।
यस्तै उपप्रमुख-उपाध्यक्षलाई न्याय सम्पादन, अनुगमन तथा सुपरीवेक्षण, गैरसरकारी संघ संस्था परिचालन तथा समन्वय, नीति, योजना, कार्यक्रम तथा बजेट तर्जुको अधिकार दिएको छ ।
यस्तै राजस्व परामर्श समिति, नगर सभा र कार्यपालिकाबाट गठन गरिएका विषयगत समितिहरुका बिचमा समन्वय र सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।
एउटै भूगोलमा प्रशासनिक विभाजनबाट गठन गरिएका पालिकाहरुको कार्य सम्पादनमा एकरुपता ल्याउन सञ्जालको महत्वपूर्ण भूमिका हुने बैठकका अध्यक्ष एवं महानगरका कार्यवाहक प्रमुख डंगोलको भनाइ छ ।
सञ्जालको हरेक महिना बैठक बस्नेछ । त्यो बैठकले अर्को बैठकको मिति र स्थान तय गर्नेछ । यसरी तय भएको बैठक जुन पालिकाले आयोजना गर्ने हो, बैठकको अध्यक्षता पनि त्यही पालिकाका उपप्रमुख(उपाध्यक्षको हुनेछ ।
हरेक वैठकमा उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित एउटा विषयमा बिज्ञको प्रस्तुतिकरण र छलफल गरिने योजना बनाइएको छ ।
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बैठकमा जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडाले स्थानीय विवाद निरुपणको अभ्यास, न्यायिक समिति र अदालतको सम्बन्ध विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
Categorized in स्थानीय