गुंपुन्हि तथा जनै पूर्णिमा मनाईंदै
SamacharDesk – राम डंगोल | २०८० भाद्र १४, बिहिबार

आज श्रावण शुक्ल पूर्णिमा, नेवार समुदायहरु आजको दिन गुंपुन्हि मनाइरहँदा तागाधारीहरु जनै पुर्णिमा मनाइरहेका छन् ।
आजको दिनलाई “गुंला महिनाको पुन्हि” अर्थात् “गुंपुन्हि” भनेर मनाउँछन् । विभिन्न ९ थरी गेडागुडी पकाएर क्वाति खाँदै आज नेवार समुदाय गुंपुन्हि मनाउने गर्दछन् ।
नेपाल सम्वत अनुसार यो पर्व गुंला महिनामा पर्छ र नेपालभाषामा पुन्हि भन्नाले पुर्णिमा हो । गुंला महिनामा पर्ने पुर्णिमा भएकोले यसलाई गुंपुन्हि भनिएको भन्ने कथन छ ।
साथै आज क्वाति खाने दिन भएकोले क्वाति पुन्हि पनि भनिन्छ । विभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएर उक्त परिका तयार पारिन्छ ।
नेपाल भाषामा क्वातिको शाब्दिक अर्थ “क्वाः” भनेको तातो परिकार “ति” भनेको झोल त्यसैले “क्वाति” भनेको झोलिलो परिकार हो । अघिल्लो दिन पानीमा भिजाई राखिएको मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ ।
हरियो टुसा पलाएको गेंडागूडीलाई विशेष गरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्त्वपूर्ण स्वाद पनि हो ।
यसरी ९ थरीको गेडागुडीको मिश्रण क्वातिमा प्रोटिनको साथमा कार्बोहाइड्रेड, आइरन, क्याल्सियम खालका पौष्टिक तत्त्व भरपूर मात्रामा पाइने हुँदा यसले मान्छेको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दछ ।
साथै वर्षातको मौसममा हुन सक्ने रोग, महामारीबाट बच्न समेत यसले मद्दत गर्ने विज्ञहरुले बताएका छन् । त्यसैले पछिल्लो समय यो खान्की नेवार समुदायबाट विस्तार भएर अन्य समुदायसम्म पुगेको छ ।
अन्य समुदायका मानिसले जनै फेरेर क्वाति खाने गर्छन् । आजको दिनमा काठमाडौंका हरेक बहालमा दीपङ्कर बुद्धको मूर्तिको साथै विभिन्न बौद्ध सामग्री प्रदर्शन गर्ने परम्परा पनि रहेको छ ।
यो दिनमा ९ थरी गेडागुडीको रस क्वाति खाएर ९ जोर लुगा फेर्दै ९ पटक ९ वटा बहालमा घुम्न जानुपर्ने कथन पनि पाइन्छ । नेपालभाषामा ९ लाई गु भनिन्छ । ९ अङ्कसँग सम्बन्धित भएकोले यसलाई गुंपुन्हि भनिएको पनि कथन छ ।
यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा “बहिद्यः ब्वयेगु” भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।
जनै पूर्णिमा
हिन्दू धर्मावलम्बीहरू भने आजको दिन जनै पूर्णिमा अर्थात् ऋषितर्पणी मनाउँदछन् । जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षाबन्धन बाँध्ने परम्परा छ ।
यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।
आजको दिन नेवार समाजका सनातन धर्मावलम्बीहरु पनि आफ्ना गुरु पुरोहितको हातमा रक्षा बाँध्ने गर्दछन् । सनातनी नेवारहरु आफ्नो गुरु पुरोहितको हातबाट गुंपुचः बाँध्ने गर्दछन् ।
सनातनी नेवारहरुको गुरु पुरोहित देव ब्राम्हण राजोपाध्यायले कपडाको टुक्रामा विभिन्न सामग्रीहरु राखी बेसारले पहेंलो रंगिएको धागोले बाँधेको गुंपुचः आफ्ना जजमानको नाडीमा बाँधिदिने गर्दछन् ।
भ्यागुताको पूजा
यस दिन नेवारी समुदायका मानिसले धुमधामका साथ भ्यागुताको पूजा गर्छन् । जसलाई स्थानीय भाषामा ब्याँ जाः नकेगु भन्ने गरिन्छ ।
भ्यागुतालाई पानीको प्रतीकका रुपमा लिइने भएकाले यसको रक्षा गर्न जनैपूर्णिमाका दिन विशेष पूजा गरिँदै आएको हो। ताल, पोखरी, कुवा तथा पानीको तलाउमा भ्यागुता रहने र यसले पानीको बचाउ गर्छ भन्ने विश्वासका साथ यस दिन क्वाति दिएर पूजा गरिएको हो।
रक्षा बन्धन
मधेशी समुदायहरु रक्षाबन्धन पर्व मनाउने गर्दछ । दिदीवहिनीहरुले आफ्ना दाजुभाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ ।
रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, रक्षा र बन्धन । संस्कृत शब्दावलीको अनुसार यसको अर्थ सुरक्षाको गाँठो हुन्छ। यो चाड दाजुभाइदिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो।
यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ। यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ।
त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन् ।
Categorized in संस्कृति