arin enterprises

खुलामञ्चका विषयमा “अकुपाइ टुँडिखेल”द्वारा जिप्रका प्रमुखलाई ध्यानाकर्षण

SamacharDesk – समाचारडेस्क | २०८० माघ १६, मंगलबार

काठमाडौं जिल्ला प्रशासन कार्यालय प्रमुख समक्ष मंगलबार अकुपाइ टुँडिखेलका अभियन्ताहरुले ज्ञापनपत्र बुझाएका छन् ।

महानगरपालिकाले खुलामञ्चमा दुईवटा फुटवल ग्राउण्ड निर्माण गर्ने योजना सार्वजनिक गरेसँगै अभियन्ताहरु खुलामञ्चलाई खुला नै राख्नेपर्ने भन्दै विरोधमा उत्रिरहेका छन् ।

सोमबार खुलामञ्चमा काठमाडौं महानगरपालिकाले फुटबल ग्राउण्ड बनाउने तयारी गरेको बारे जानकारी गराउँदै सिडिओ जितेन्द्र बस्नेत समक्ष ज्ञापनपत्र बुझाएको हो ।

अभियानका संयोजक बिजय श्रेष्ठ, पूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेस नेता भिमसेन दास प्रधान, नेवाः देय् दबूका उपाध्यक्ष उमेश स्थापित लगायत विभिन्न स्थानीय संघ, संस्थाका प्रतिनिधिहरुको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

उनीहरूले खुलामञ्चलाई शासकहरूले मास्दै आएको र केही जग्गा पनि महानगरले सक्न लागेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका थिए । ज्ञापन पत्र बुझेपछि सिडियो बस्नेतले महानगरले खुलामञ्चलाई खुलानै गर्ने मौखिक जवाफ पाएको बताए ।

‘बिगार्न लागेको होइन, अहिले भइरहेको माटो निकालेर ग्रिनरी बनाउने भनेर जानकारी आएको छ । बिहान–बेलुका खेल्न मिल्ने गरी मैदानलाई हरियाली गरेर खुला स्थान नै बनाउने भन्ने महानगरको मौखिक जानकारी छ,’ बस्नेतले भने ।

सो अवसरमा उहाँले खुल्ला मञ्चलाई त्यसको ऐतिहासिकता, मौलिकता र प्राकृतिक स्वरुप कायम हुने गरी कसरी जोगाउनको लागि काठमाडौँ महानगरपालिकाले बुद्धीमततापूर्वक, विवेक प्रयोग गरेर संरक्षणको काम कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिए ।

महानगरले उपभोक्ता समितिमार्फत दुईवटा फुटबल ग्राउण्ड निर्माण गर्न लागेको हो । करिब ५ करोडको लगानीमा अन्तर्राष्ट्रिय स्तरको दुईवटा फुटबल ग्राउण्ड निर्माण गर्न लागेको योजना महानगरले सार्वजनिक गरेको थियो । 

अभियन्ताहरुका अनुसार खुलामञ्च सरकारी जग्गा नभई सार्वजनिक जग्गा भएको हुनाले सर्वसाधरणको पहुँचमा हुनुपर्नेमा जोड रहेको छ ।

सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चिन पुगेको छ । हाल यसको अतिक्रमण हुने क्रम बढ्दो छ ।

Categorized in स्थानीय