मयजुबहाल चक्रपथ ८ करोडमा कालोपत्रे, अनुगमनमा मेयर शाक्य
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ पौष २, बिहिबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चाबहिल मयजुबहाल चक्रपथको करीब २ किलोमिटर बाटो कालेपत्रेको प्रगति अनुगमन गर्नुभएको छ । बुधबार साँझ मयजुबहाल पुग्दै लामो समयदेखि नगरविकास आयोजनाले समेत अलपत्र छाड्दै आएको मयजुबहाल चक्रपथको बाटो कालोपत्रे कामको मेयर शाक्यले अनुगमन गर्नुभएको हो ।
करीब दुई घण्टा जतिको अनुगमनकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ प्रमुख शाक्यले आफू निर्वाचित भएर आएपछिका तीन वर्षमा वडामा भएका विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन अनुगमनमा निस्किएको बताउनुभयो ।
‘केन्द्रबाट पठाएको र वडामार्फत परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो, कति बाँकी छ भन्ने जानकारी लिन यो अनुगमन गरेका हौँ,’ शाक्यले भने । ‘यस्ताखाले अनुगमन ३२ वटै वडामा समय–समयमा गर्दै आएका छौँ ।’
उहाँले चुनाव प्रचारका बेला मैजुबहाल चक्रपथको कालोपत्रे गर्नेलगायतका काम आफु निर्वाचित भएपछि पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउँदै काम सम्पन्नको चरणमा आइपुग्दा खुशी लागेको बताउनुभयो । उहाँले अन्य बाँकी काम पनि सकेसम्म यहि कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा अनुगमन समितिका संयोजक समेत रहेका स्थानीय वासिन्दा रविन्द्र पण्डितले मेयर शाक्यसहितको टोलीलाई स्वागत गर्दै निर्वाचनका बेला गरेको प्रतिवद्धता पूरा गरेकोमा धन्यवाद दिनुभयो ।
अनुगमनमा मेयर शाक्यको साथमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, वडाध्यक्ष शुद्धकुमार डंगोल, काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख राम थापालगायत पनि सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा प्रधानन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराईले सन्तोषजनक रुपमा काम अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले काठमाडौँ महानगरपालिकाको विशेष पहलमा काम सम्पन्न हुने चरणमा पुगेको भन्दै आगामी दिनमा यसको संरक्षणको दायित्व टोलबासीको भएको बताउनुभयो ।
वडाध्यक्ष डंगोलले पनि उम्मेदवार बनेकै बेला निर्वाचित भएपछि विकास निर्माणको जिम्मा लिने प्रतिवद्धता व्यक्त गरेको भन्दै आज प्रतिवद्धता पूरा हुने चरणमा रहेको बताउनुभयो ।
उहाँले मयजुबहाल चक्रपथको करीब २ किलोमिटर कालोपत्रे गर्ने, विजुलीका पोल सार्नेलगायतका कार्यका लागि करीब ८ करोड ५० लाखको योजना भएको सुनाउनुभयो ।
Categorized in स्थानीय