arin enterprises

काठमाडौँ महानगर र चन्दननाथ नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ पौष ८, बुधबार

काठमाडौँ महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । जुम्लाको उद्योग बाणिज्य महासंघको हलमा आयोजित कार्यक्रममा दुई नगरबिच भगिनी सम्बन्ध स्थापनापछि सो नगरपालिकाको वडा–३ मा अवस्थित धिमी पार्क निर्माणका लागि साझेदारी गर्ने सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सम्झौतापत्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालले हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि निर्माण गरिने सो पार्कका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत बजेटबाट रु १ करोड ५० लाख दिने घोषणा गरेको छ ।

हस्ताक्षरपछि काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा, मानवीय नगर बनाउनमा सहकार्य गर्न, आपसी हितका लागि अध्ययन तथा अवलोकनलगायतमा पनि यो सम्बन्धले सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो ।

‘जुम्लाको सिंजा नेपाली खस भाषाको उत्पति भएको ठाउँका रुपमा पनि परिचित छ, काठमाडौँ नेपाल भाषाको,’ शाक्यले भन्नुभयो, ‘एकतामा अनेकता होइन अनेकतामा एकता खोज्ने उदेश्यका साथ दुई नगरबिच भगिनी सम्बन्ध स्थापना गर्दै गर्दा इतिहासको सम्बन्ध पनि जोडिएको छ ।’

चन्दननाथकी प्रमुख सेजुवालले आगामी दिनमा विद्यूत व्यवस्थापन, सडक र भौतिक पूर्वाधार निर्माण, पर्यटन मार्ग निर्माणलगायतका लागि पनि सहकार्य गर्न सकिने बताउनुभयो ।

‘देशकै ठूलो र पुरानो महानगरबाट यो नगरलाई सहकार्यसँगै विकास निर्माणमा गरेको साझेदारीले हामी थप उत्साहित भएका छौँ’ सेजुवालले भने ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले संस्कृति र पर्यटनलाई जोड्दन स्वदेशकै नगर–नगरबिच भगिनी सम्बन्ध स्थापनाको कार्य अघि बढाएको बताउनुभयो । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले काठमाडौँ महानगरपालिकाको सहयोग र सहकार्यले जुम्लेली जनता खुशी भएको बताउनुभयो ।

कार्यक्रम अघि प्रमुख जिल्ला अघिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, नगर प्रमुखलगायतले विमानस्थलदेखि नै झाँकीसहित प्रमुख शाक्यसहितको टोलीलाई कार्यक्रमस्थलसम्म पुयाएका थिए ।

एउटा निर्वाचन क्षेत्र रहेको जुम्लामा नगरपालिका पनि एउटै मात्रै रहेको छ ।

Categorized in स्थानीय