arin enterprises

ताम्सीपाखा सडक महोत्सव हुँदै

SamacharDesk – बिराज | २०७९ पौष १३, बुधबार

नेपाल सम्वत ११४३ नयाँ वर्षको अवसरमा काठमाडौं महानगरपालिका १८ वडा कार्यालयले ताम्सीपाखा सडक महोत्सव गर्ने भएको छ ।

स्थानीय संस्कृतिको संरक्षण र प्रचार प्रसारको साथै स्थानीय उत्पादनको बजार प्रवद्र्धनको लागि भन्दै आउँदो पुस १५ गते शुक्रबारका दिन कार्यालयले महोत्सव गर्न लागेको हो ।

समाचारडेस्कसँग कुरा गर्दै कामपा १८ वडाका वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले नेपाल सम्वत न्हूदँ (नयाँ वर्ष) को अवसरमा वर्षेनी भिन्तुना सनिल कार्यक्रम गर्दै आएको र यसै कार्यक्रमको क्रममा यस वर्ष ताम्सीपाखा सडक महोत्सव गर्न लागेको जानकारी दिए ।

‘हामीले यो कार्यक्रम नेपाल सम्वतको नयाँ वर्षको अवसरमा गर्न लागेका हौं । कार्यक्रम केही समय अगाडी नै गर्नुपर्ने हो तर, यसपालि आम निर्वाचनको कारण केही ढिला हुन गएको हो ।’ वडाध्यक्ष महर्जनले बताए ।

महोत्सवमा विभिन्न स्थानीय परिकार र हस्तकलाका सामग्रीको स्टल रहने र सांस्कृतिक कार्यक्रम समेत हुने वडाध्यक्ष महर्जनले जानकारी दिए । महोत्सवमा स्थानीय हस्तकलाका सामग्री र विभिन्न खाद्य परिकारका करीब २० वटा स्टल रहने बताइएको छ ।

‘फुड स्टलमा यःमरि, वः, चतांमरि लगायत यहाँका मौलिक परिकारहरु रहनेछ भने हस्तकलाका सामग्रीको स्टलमा वडाबाट तालिम लिएका गृहिणीहरुबाट उत्पादित अचार, बेकरी, मखमली कपडाको जुत्ता, झोल साबुन, डल्लो साबुन आदि रहनेछ’ महर्जनले जानकारी दिए ।

साँस्कृतिक कार्यक्रममा सुल्तान अफ स्ट्रिङ अनिल शाहीको समेत प्रस्तुति रहनेछ । साथमा सुरेन्द्र मानन्धर र सविन शाक्यको प्रहसन पनि प्रस्तुत गरिने वडा कार्यालयले जनाएको छ ।

साथै न्यू जेनिथ इङ्गलिस मोडल स्कूलका विद्यार्थीहरुको नृत्य प्रस्तुति पनि कार्यक्रममा रहेको बताइएको छ ।

त्यसैगरी नरदेवी, किलागल, त्यंगःत्वाः कुम्हाः खलः, उदाय समाज लगायतबाट धाः, बाँसुरी लगायतका प्रस्तुतिसँगै आआफ्नो टोल समुदायको अमूर्त सम्पदाको पहिचान प्रस्तुत गरिने पनि बताइएको छ ।

महोत्सवमा स्टलहरु भने विहानको १० बजेबाट सुरु हुनेछ भने साँस्कृतिक कार्यक्रम दिउँसो २ बजेबाट सुरु हुने वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले गएका वर्षहरुमा नरदेवी, रक्तकाली, किलागल, भुरुङखेल लगायतका स्थानहरुमा भिंतुना सनिल कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Categorized in स्थानीय