स्वयम्भू बुद्ध पार्क क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ मङ्सिर ६, शनिबार

काठमाडौँ महानगरपालिकाले सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि बढाएको छ ।
यही योजना अनुरुप विश्व शौचालय दिवस २०२० को अवसरमा चक्रपथ सडकखण्डको स्वयम्भू बुद्ध पार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको शुरुवात गरिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ४०० बर्ग फिट क्षेत्रफलमा निर्माण भएको सो शौचालयको शुभारम्भ गर्नुभयो ।
‘काठमाडौं महानगरले सम्पदा र भीड हुने क्षेत्रलाई प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने नीति अनुरुप काम तीव्र बनाएका छौं,’ काठमाडौँ महानगरपालिकाले पछिल्लो समय डिजाइन तयार पारेका पार्क र निर्माण भैरहेका पार्कमा पनि सौचालयलाई प्राथमिकतामा राखेको छौं ।’
कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिनावारी प्याड मेसिनमा सिक्का राखेर स्यानिटरी प्याड मेसिन सञ्चालन गर्नुभयो ।
महानरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले उक्त ठाउँलाई शौचालय पार्कका रुपमा विकास गर्ने वडाको योजना रहेको सुनाउनुभयो ।
सहरी योजना आयोगका सदस्य मनराजा रञ्जितले काठमाडौँ महानगरपालिकाले यो आर्थिक वर्ष भित्रमा ३० देखि ४० वटासम्म सौचालय निर्माण गर्ने योजनासहित अघि बढेको जानकारी दिनुभयो ।
‘एरोसानलाई हामीले स्वयम्भुसँगै त्रिपुरेश्वर, परोपकार र टंकेश्वरमा पनि अत्याधुनिक शौचालय निर्माणका लागि प्रक्रिाय अघि बढाउन अनुमति दिएका छौँ,’ रञ्जितले भन्नुभयो ।
गैर आवासीय नेपाली संघसँग कंलकी, कोटेश्वर, महाराजगञ्ज र सिफलमा सौचालय निर्माणको प्रक्रिया अघि बढिसकेको पनि रञ्जीतले जानकारी दिनुभयो ।
स्वयम्भूमा ५५ लाख रुपैयाँ लागतमा निर्माण भएको शौचालयमा वडा १५ ले ५ लाख रुपैयाँ र बाँकी एरोसानकातर्फबाट स्रोत व्यहोरिएको छ । शौचालय भवनबाट आकाशे पानी संकलन गर्न १२ हजार लिटरको पानी संकलन ट्यांकि राखिएको छ ।
शौचालय महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक सबैका लागि प्रयोग मैत्री भएको दावी गरिएको छ ।
‘शौचालयका सुबिधा स्वचालित प्रबिधिमा आधारित छन्,’ एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले भन्नुभयो, ‘शौचालयबाट उत्पादन भएको कुनै पनि फोहोर बाहिर जाँदैन ।’
शौचालयमा पुरुषका लागि ४ वटा युरिनल र २ वटा शौचालय, २ वटा कोठा रहेको महिला शौचालयमा बच्चालाई प्याड फेराउने ठाउँ, महिनावारीमा प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रबिधिबाट पानी र झोल साबुन आउने प्रबिधि, हात सुकाउने मेसिन जडान गरिएका छन् ।
साथै पर्यटक र अपाङ्गता भएका व्यक्तिका लागि १र१ वटा छुट्टाछुट्टै शौचालय कोठा छन् । स्वचालित भेन्टिलेसन, स्वचालित फ्लस प्यान, सुधारिएको दिसा गर्ने प्यान जडान गरिएका छन् ।
Categorized in स्थानीय