arin enterprises

राष्ट्रिय विभूति शंखधर र मानवाधिकारवादी नेता तुलाधरको शालिक अनावरण

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ मङ्सिर ६, शनिबार

नेपाल सम्वतका प्रणेता राष्ट्रिय विभुती शंखधर साख्वा र मानवाधिकारवादी नेता पद्मरत्न तुलाधरको सालिक काठमाडौंको रानीपोखरी नजिकै शंखधर उद्यानमा अनावरण गरिएको छ ।

आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा साख्वाः र तुलाधर दुबैको शालिक अनावरण गर्नुभयो ।

अनावरणपछि शालिकमा शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठलगायतले माल्यार्पण गर्नुभएको थियो ।

करीब २० लाखको लगानीमा उक्त शालिकको निर्माण महेश तुलाधरले गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले साख्वाले जनतालाई ऋणमुक्त गराएको स्मरण गर्दै शंखधर दानी व्यक्तित्वको चर्चा गर्नुभयो । त्यस्तै मन्त्री श्रेष्ठले वामपन्थी राजनीतिज्ञ तुलाधरले ४६ सालमा विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याइ आन्दोलन सफल बनाउन खेल्नुभएको भूमिकाको पनि स्मरण गर्नुभयो ।

नेपाल सम्वतलाई राष्ट्रिय सम्वतका रुपमा स्थापित गराउने विषयमा कसैको विमति नरहने पनि श्रेष्ठले बताउनुभयो ।

काठमाडौं महानगरपालिका प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्तित्वहरुलाई सबैले चिरकालसम्म सम्झिरहुन भनेर महानगरपालिकाले शालिक निर्माण गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा वागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलल, सहरी विकास राज्यमन्त्री रामविर मानन्धर, काठमाडौं महानगरपालिका उपप्रमख हरिप्रभा खड्गी श्रेष्ठ, पद्मरत्नकी छोरी सुम्निमा तुलाधर लगायतको उपस्थिती रहेको थियो ।

शंखधर साख्वाःले आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ नेपाल सम्वतको थालनी गरेका थिए ।

वि.सं. २०५६ मंसिर २ गते तत्कालीन कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको थियो ।

साख्वाःको सम्झनामा उनलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिएको छ । त्यस्तै नेपालको मानव अधिकार, भाषा र जातीय समानताको आन्दोलनको साथै देशको ठुलठुला राजनीतिक परिवर्तनमा समेत पद्मरत्नको अतुलनीय योगदान रहेको छ । 

Categorized in स्थानीय