arin enterprises

‘ठाउँ दिनुस्, शंखधरको अझ भव्य सालिक बनाउँछौं’ – मेयर शाक्य

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ मङ्सिर १०, बुधबार

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपयुक्त स्थान उपलब्ध भए त्यहाँ महानगरपालिकाबाट राष्ट्रिय विभूति शंखधर साख्वाःको अझ भव्य प्रतिमा स्थापना गर्ने बताउनुभएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको उपलक्ष्यमा आज मंगलवार कामपा १५ वडास्थित लखुतीर्थमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले शंखधरको दानी प्रवृत्तीबारे नयाँ पिढिलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

रत्नपार्कको नाम परिवर्तन गरी शंखधर पार्क नामाकरण गरिएको र त्यहाँ शंखधर साख्वाःको प्रतिमा स्थापना गरिएको बारे आइरहेको टिकाटिप्पणीप्रति लक्षित गर्दै उहाँले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःको योगदानलाई चिरस्मरणीय बनाउन काठमाडौं महानगरपालिकाले गत शनिवार शंखधर उद्यानमा शंखधर साख्वाःको सालिक स्थापना गरेको बताउनुभयो ।

‘त्यहाँ सालिक राखिएकोमा केही केहीको गुनासो पनिसुनियो । शंखधरको सालिक त्यहाँ नराखी अर्कै ठाउँमा राख्दा राम्रो हुने सुझाव पनि आयो,’ शाक्यले भन्नुभयो । ‘यदि कतै त्यस्तो ठाउँ छ भने हामीलाई भन्नोस्, हामी त्यहाँ शंखधरको अझै भव्य सालिक राख्नेछौं ।’

किम्वदन्ती अनुसार शंखधर साख्वाःले लखुतीर्थबाट लिएको वालुवा नै सुनमा परिणत भएको र उहाँले त्यही सुन बेचेर ऋणमा डुबेका तत्कालीन नेपाली जनतालाई ऋणमुक्त गरी नयाँ युग शुरु भएको संकेत स्वरुप नेपाल संवत् स्थापना गरेका थिए ।

शंखधरसँग जोडिएको उक्त लखुतीर्थलाई पनि अहिले काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरी धार्मिक पार्कको रूपमा विकास गर्न लागेको छ ।

मेयर शाक्यले उक्त पार्क निर्माण भइसके पछि शंखधर साख्वाःको गरिमा अझ बढ्ने बताउनुभयो । 

देशको नामबाट नेपाल संवत् स्थापना गर्ने शंखधरको योगदानको कदर गर्दै नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमि अर्थात् वि.सं. २०५६ मंसिर २ गते उहाँलाई राष्ट्रिय विभूति घोषित गरेको थियो ।

उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन कछलाथ्व दशमिलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिएको छ ।

Categorized in स्थानीय