काठमाडौं महानगर र रामग्राम नगरबीच भगिनी सम्बन्ध स्थापना
SamacharDesk – बिकाश | २०७७ मङ्सिर १४, आइतबार

काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाबिच आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत अनुभव आदान–प्रदान गर्ने उदेश्यले अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना भएको छ ।
काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्या सुन्दर शाक्य र रामग्राम नगरपालिकाका तर्फबाट प्रमुख नरेन्द्र कुमार गुप्ताले सहमति–पत्रमा हस्ताक्षर गरी हस्ताक्षर आदान–प्रदान गरेर भगिनी सम्वन्ध स्थापना भएको घोषणा गर्नुभएको हो ।
सो अवसरमा दुवै नगर प्रमुखहरुले नगरहरुका बिच मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्वन्ध स्थापना गर्ने, संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रामग्राम नगरपालिकासँग भगिनी सम्वन्ध स्थापित गरेसँगै काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत रामग्राम नगरपालिकालाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्न ‘कोलिय शान्ति उद्यान’ निर्माणका लागि रु. १ करोड ५० लाख रकम दिने घोषणा गरेको छ ।
सहमति पत्रमा हस्ताक्षर पछि शाक्यले शिक्षा, स्वास्थ्य, सहकारी तथा स्थानीय रोजगारीका क्षेत्रहरुमा हासिल गरेका उपलब्धी, सफल तथा असल अभ्यासहरुबारे एकआपसमा अनुभव साटासाट गर्ने तथा सहकार्यमा नविन सोच, योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने कुरामा पनि थप टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाले यस अघि पनि अमेरिका, चीन, भारत, दक्षिण कोरियालगायत विश्वका विभिन्न १७ वटा नगरसँग भगिनी सम्वन्ध स्थापना गरिसकेको छ भने नेपालको जुम्लामा रहेको चन्दननाथ नगरपालिकासँग पनि यस अघि नै भगिनी सम्वन्ध स्थापना गरेको छ ।
रामग्रामका नगर प्रमुख गुप्ताले सम्भावना र चुनौती दुवै मिल्दा हुने भएकोले विदेशी नगरसँगभन्दा देशभित्रकै नगरसँग स्थापना हुने भगिनी सम्बन्ध लाभदायी हुने विचार राख्नुभयो ।
कार्यक्रममा काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ‘दुई नगरबीच धार्मिक र सांस्कृतिक सम्बन्ध दिगो हुने अपेक्षा गर्नुभयो । रामग्राम नगरकी उपप्रमुख रम्भा कुँवरले, दुई नगरबीचको आत्मीय सम्बन्धबाट नगरको समृद्धिमा हौसला मिलेको प्रतिक्रिया दिनुभयो ।
कार्यक्रममा काठमाडौं महानगरकका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।
भगिनी सम्वन्ध स्थापित गर्नु अघि दुबै नगरका पदाधिकारीसहितको टोलीले रामग्रामको वडा–१८ गौत्तम वुद्धको मामाघर रहेको प्राचीन कोलिय गणराज्यको राजधानी पण्डितपुर, वडा ७ मा रहेको रामग्राम स्तुप, त्रिवेणी धाम र गजेन्द्रमोक्ष धामलगायत स्मारक, धार्मिक र सांस्कृतिक स्थलहरुको भ्रमण अवलोकन गरेको थियो ।
Categorized in स्थानीय