arin enterprises

संघीयतालाई मजबुद बनाउन स्वदेशका नगरहरुसँग भगिनी सम्वन्ध बनाउने शाक्यको भनाई

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ मङ्सिर १८, बिहिबार

जुम्लाको चन्दननाथ नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्ने निर्णय गरेको काठमाडौँ महानगरपालिकाले आज त्यहाँका प्रमुख क्रान्तिका सेजुवालसहितका जनप्रतिनिधिसँग छलफल गरेको छ ।

छलफलका क्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले दुई नगर क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवर्ध्दन, विकास र प्रचार प्रसारमा सहकार्य गर्ने बताउनुभयो ।

सम्पदाको धनी साँस्कृतिक सहर काठमाडौँ र कर्णालीको दुर्गम नगरपालिका चन्दनथानबिच भगिनी सम्वन्ध स्थापना गर्ने कुरा आफैमा सकारात्मक छ,’ शाक्यले भन्नुभयो, आपसी सहकार्य, ठोस योजना तथा नतिजामूखि क्रियाकलाप संचालनका लागि साझेदारी गर्न चाहेका छौँ ।’

संघीयतालाई सार्थक र थप बलियो बनाउन पछिल्लो समय स्वदेशकै नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास अघि बढाएको शाक्यले जानकारी दिनुभयो । सो अवसरमा शाक्यले काठमाडौँका १० वटा नगर, भक्तपुरको मध्यपुर थिमि र रामग्राम नगरपालिकासँग साझेदारीका केही काम अघि बढाएको जानकारी पनि गराउनुभयो ।

भगिनी सम्वन्ध स्थापनापछि जुम्लामा उत्पादिन बहुमुल्य जडिबुटी, स्याउ, सिमि, ओखरलगायतका प्राङगरिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापनलगायतका विषयमा पनि सहकार्य गर्न सकिने शाक्यले बताउनुभयो । रारा, सेफोक्सुण्डो जस्ता ताल जाने बाटोमै रहेको चन्दननाथसँग धार्मिक पर्यटनसँग समेत जोडेर मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन सकिने धारणा समेत शाक्यले राख्नुभयो ।

चन्दननाथ नगरपालिकाकी प्रमुख सेजुवालले स्रोत–साधनले सम्पन्न काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । दुई नगरहरु धार्मिक पर्यटनसँग पनि जोडेर अघि बढ्न सकिने विचार सेजुवालले राख्नुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि भगिनी सम्वन्ध स्थापनापछि दुई नगरले सहकार्य गर्न सकिने बताउनुभयो ।

आजै धनकुटाको पाख्रिवास नगरपालिकाका प्रमुख वृषबहादुर राई र जनप्रतिनिधिसँग पनि छलफल भएको छ । छलफलमा प्रमुख राईले पनि आगामी दिनमा सहकार्य गरेर अघि बढ्न भगिनी सम्वन्ध स्थापनाका लागि प्रस्ताव राख्नुभयो ।

Categorized in स्थानीय