arin enterprises

काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ मङ्सिर १९, शुक्रबार

काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय विषयको पाठ्यपुस्तक तयार गरी पठनपाठन अघि बढाएको छ । महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरी पठनपाठन अघि बढाएको हो ।

काठमाडौँ महानगरपालिका शिक्षा विभागका अधिकृत मोती खनालले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको एफएम र विभिन्न माध्ययममार्फत पठन–पाठन अघि बढाएको जानकारी दिनुभयो । उहाँले काठमाडौँ महानगरपालिकाका आफु मातहत रहेका सामुदायिक र संस्थागत सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुने जानकारी दिनुभयो ।

काठमाडौं महानगरको परिचय दिँदा प्रयोग गरिने धेरै शब्दहरू नेपालभाषाकै हुने र यहाँको स्थानीय भाषामै पठनपाठन हुँदा नगरलाई अझ नजिकबाट बुझ्न सकिने भएकोले यो पाठ्यपुस्तक नेपालभाषामा तयार गरिएको काठमाडौं महानगरपालिकाको भनाई छ ।

पाठ्यपुस्तक र पाठ्यक्रम लेखनमा शुरुदेखि सहभागी हुँदै आउनुभएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा वज्राचार्यले पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू समावेश गरिएको जानकारी दिनुभयो ।

‘पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन्,’ उहाँले भन्नुभयो, ‘बालबालिकालाई परम्परागत ज्ञानसीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको छ ।’

कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक, कक्षा ६,७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको डा. बज्राचार्यले बताइन् ।

काठमाडौं महानगरपालिकाले हाल कक्षा १ को लागि पाठ्यपुस्तक तयार गरिसकेको छ भने कक्षा २ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तकहरू डिजाइनमा गइसकेको छ ।

नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो । 

Categorized in स्थानीय