arin enterprises

मेयर शाक्यबाट श्रीघः विहारको भवन शिलान्यास

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ मङ्सिर २०, शनिबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति र परम्पराको संरक्षणमा काठमाडौँ महानगरपालिका दत्तचित्त भएर लागेको बताउनु भएको छ ।

वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको शिलान्यास कार्यक्रममा बोल्दै शाक्यले सम्पदा संरक्षणलाई महानगरपालिकाले  प्राथमिकतामा राखेर निर्माण–पुर्ननिर्माणको अभियान अघि बढाएको बताउनु भयो ।

‘क्वाःपा, द्यःछेँ, बहाल, बहि, सत्तल जस्ता सांस्कृतिक सम्पदाको निर्माण–पुर्ननिर्माणको अभियानलाई महानगरपालिकाले प्राथमिकतामा राखेर अघि बढाएको छ,’ उहाँले भन्नुभयो, ‘गुठी परम्परालाई जीवन्त बनाइराख्न पनि काठमाडौँ महानगरपालिकाले आवश्यक लगानी गर्दै आएको छ ।’

सो अवसरमा सम्पदा निर्माण–पुर्ननिर्माणमा बजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै सम्पदा संरक्षणमा सबैले हातेमालो गर्न आग्रह गर्नुभयो ।

कामपाले विभिन्न थेरवादी तथा वज्रयानी विहारहरू निर्माण गर्न आवश्यक सहयोग पुर्‍याउँदै आएको समेत शाक्यले स्मरण गराउनुभयो ।

यहाँका सम्पदालाई मोफसलका सम्पदासँग जोडेर पर्यटन क्षेत्रको विकास गर्ने र स्थानीयको आयमा समेत वृद्धि गर्ने उद्देश्यले केही दिन अघिमात्रै लुम्बिनी प्रदेशको रामग्राम नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको उहाँले जानकारी गराउनुभयो ।

यसै गरी भगवान वुद्धको मावली घर भएको पण्डितपुरमा कोलिय शान्ति पार्क निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

विहारको विस्तारित भवनको लागत ४ करोड २८ लाख रुपैयाँ रहेको छ । त्यसमध्ये पहिलो चरणमा करीब १ करोड लागतका काम हुनेछ ।

विस्तारित भवन निर्माण उपभोक्ता समितिका संयोृजक अभयरत्न कंसाकारले पहिलो चरणमा लाग्ने कुल ९९ लाख ९९ हजार एक सय ६५ रुपैयाँको १५ प्रतिशत अर्थात् १४ लाख ९९ हजार ८७४ रुपैयाँ उपभोक्ता समितिले व्यहोर्ने बताउनुभयो । बाँकी ८५ प्रतिशत अर्थात् ८४ लाख ९९ हजार २ सय ९० रुपैयाँ महानगरले सहयोग हुने संयोजक कंसाकारले जानकारी गराउनुभयो ।

Categorized in स्थानीय