arin enterprises

काठमाडौँ महानगर दिवसमा ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौँ’ घोषणा

SamacharDesk – बिराज | २०७७ मङ्सिर २९, सोमबार

२६ औं महानगर दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौँ’ कार्यक्रम घोषणा गरेको छ । दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाले आज यो कार्यक्रम घोषणा गरेको हो ।

महानगरपालिकाले तय गरेको जनस्वास्थ्य नीति कार्यन्वयन गर्ने तथा आधारभूत स्वास्थ्य सेवालाई सहज, सुलभ, गुणस्तरीय एवं भरपरर्दो बनाउने योजना अन्तर्गत मिर्गौला बचाउ अभियानसँगको सहकार्यमा यो कार्यक्रम घोषणा गरेको महानगरपालिकाले जानकारी दिएको छ ।

कार्यक्रम अन्तरर्गत वडा–वडामा पिसाव परीक्षण, परिक्षणमा लक्षण देखिएकाको प्रयोगशालामा परीक्षण, सो सम्वन्धी तालिम दिनेलगायतको योजना रहेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगरपालिका क्षेत्र भित्र रहेका राष्ट्रियस्तरका सरकारी अस्पतालहरुसँगको सहकार्यमा कोभिड नियन्त्रण र रोकथामका लागि विभिन्नखाले कार्यक्रम गर्दै आएको बताउनुभयो ।

‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौँ’ कार्यक्रम घोषणा त्यसै मध्येको एक हो,’ उहाँले भन्नुभयो, ‘कोभिडको जोखिम बढ्नु अघि नै काठमाडौँ महानगरपालिकाले त्यसको रोकथाम र नियन्त्रणका लागि १० करोडको कोष स्थापना गरेको थियो ।’

कार्यक्रम पुस १ गतेबाट लागु हुने पनि महानगरपालिकाले जनाएको छ ।

काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न काठमाडौं महानगरलाई राज्यमन्त्रीको आग्रह

कार्यक्रमलाई सम्वोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले काठमाडौँ महानगरपालिकाले कोरोनो रोकथाम र नियन्त्रणका लागि लकडाउनको समयमा उल्लेख्य भूमिका खेलेको स्मरण गराउनुभयो ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौँ महानगरपालिकाले सम्पदा पुर्ननिर्माण, भौतिक पूर्वाधारलगायतका विषयमा उल्लेख्य काम गरेको भन्दै आगामी दिनमा स्मार्ट सीटीका रुपमा विकास गर्दै लैजान थप भूमिका खेल्नेमा आशावादी भएको बताउनुभयो ।

सोही कार्यक्रममा काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रासँग सम्वन्धित पुस्तक ‘इन्द्रजात्रा’ को पनि विमोचन गरेको थियो ।

१९७६ पुष ३ गते सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा भएको दिनलाई आधार मानेर काठमाडौँ महानगरपालिकाले हरेक वर्ष महानगर दिवस मनाउँदै आएको छ ।

विभिन्न सम्मान तथा पुरस्कार प्रदान

स्थापना दिवसकै अवसर पारेर काठमाडौँ महानगरपालिकाले मेयर्स अवार्डबाट एक जनालाई सम्मान गरेको छ ।

त्यसैगरी उत्कृष्ट कर्मचारी १० जना, जनकमान श्रेष्ठ सुशासन पुरस्कार–२०७७ बाट दुई जना जनप्रतिनिधि र दुई जना कर्मचारी, महानगर सेवा पदकबाट १० जना जनप्रतिनिधि र १० जना कर्मचारीलाई पनि महानगरपालिकाले सम्मान गरेको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिका सुशासन पत्रकारिता पुरस्कारबाट १० जना पत्रकारलाई सम्मान गरिएको छ ।

उक्त सम्मानबाट न्युज एजेन्सी नेपालबाट कृष्णा पौडेल, नयाँ पत्रिका दैनिक बाट प्रकाश धौलाकोटी, बिजमाण्डु डटकमबाट दिनेश खड्का, थाहाखवरबाट अतिन आचार्य, खवर हब डटकमबाट सबिना कार्की सम्मानित भएका छन् ।

त्यसैगरी कान्तिपुर टिभीबाट सृजना बास्तोला, नामी साप्ताहिकबाट श्याम स्मृत, नेवाः युट्युबबाट बिजयरत्न तुलाधर असंबरे, लहनान्युज डटकमबाट सुरेन्द्रभक्त श्रेष्ठ सम्मानित भएका छन् भने नेपालभाषा टाइम्सलाई संस्थागत सम्मानित दिइएको थियो ।

Categorized in स्थानीय