arin enterprises

छाडा पशुको संयुक्त व्यवस्थापन गर्दै काठमाडौँ महानगर र दक्षिणकाली नगर

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ फाल्गुण ४, बुधबार

काठमाडौँ महानगरपालिका र दक्षिणकाली नगरपालिकाले संयुक्त रुपमा पशु व्यवस्थापन केन्द्र सञ्चालन गर्ने भएका छन् ।

आज दक्षिणकाली नगरको सभा कक्षमा काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएपछि सहकार्य सुरु भएको हो ।

यो ठाउँमा मिलीजुली पशुपालन समूहले पशु पालन गर्दै आएको थियो । केन्द्र दक्षिणकाली नगरको वडा ७ कोपुगाउँमा छ । सम्झौतापछि बोल्दै मेयर शाक्यले, काठमाडौँबाहिर कुनै पनि काम गर्नुपर्दा त्यहाँको नगरसँग सहमति लिएर सहकार्यमा मात्र काम गर्ने गरेको बताउनुभयो ।

शाक्यले थप्दै भन्नुभयो, ‘काम गर्दै जाँदा भोलि केही समस्था थपिन सक्छन् । ती समस्याको मिलेर समाधान गर्नुपर्छ र यस्ता कार्यक्रमहरु दिगो हुनुपर्छ ।’

दक्षिणकालीका मेयर बस्नेतले पार्क निर्माणलगायत पूर्वाधार विकासका कार्यक्रममा महानगरले आफुहरुलाई सघाएको स्मरण गर्दै दक्षिणकालीले पनि महानगरबासीको जीवन सहजताका लागि सघाउन चाहन्छौँ ।

सम्झौताबमोजिम यस अघिको लगानी फिर्तासहितका काम गर्न काठमाडौँ महानगरले दक्षिणकाली नगरलाई ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।

यसको सञ्चालन व्यवस्थापनका लागि महानगर समिति वा एकाई गठन गर्न सक्नेछ । यस संरचनाले दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइ, पूर्वाधार निर्माण तथा मर्मत सम्भार, मृत जनावरको व्यवस्थापन लगायत काम गर्नेछ ।

पशु सेवालाई दैनिक सञ्चालन गर्न खाद्यान्न, औषधी, उपकरणको प्रबन्ध महानगरले गर्नेछ । त्यस्तै केन्द्र भएको जमिनमा डाले तथा भुइँ घाँस लगाउन सक्नेछ ।

Categorized in स्थानीय