गाइजात्रामा विधि पूरा गरी भिडभाड नगर्न काठमाडौँ महानगरपालिकाको अपिल
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण १५, बिहिबार

काठमाडौँ महानगरपालिकाले गाइजात्रालगायतका पर्वमा घर–घरमै बसेर विधि पूरा गर्दै भिडभाड नगर्न आग्रह गरेको छ ।
काठमाडौँ महानगरपालिकाको पचासौँ नगर कार्यपालिका बैठकलाई सम्वोधन गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाभित्र स्थानीयमै संक्रमण देखिरहेको अवस्थामा सतर्क हुनुपर्नेमा जोड दिँदै जात्रापर्व भन्दै भीडभाड नगर्न आग्रह गर्नुभयो ।
‘आज मात्रै पनि उपत्यकामा ४५ जनालाई कोरोना पोजेटिभ देखिएको छ । यस्तो अवस्थामा २५–३० हजार मानिस एकै पटक सडकमा आउँदा नसोचेको संक्रमण फैलिन सक्छ,’ शाक्यले भन्नुभयो । ‘यस्तो विषम परिस्थितिमा भिडभाड गरेर जात्रा–पर्व नमनाउन सबै महानगरवासीलाई अपिल गरेको छ ।’
दिगम्वत भएका आफन्तहरुको सम्झनामा मनाउँदै आएको गाइजात्रा पर्वलाई यो पटकका लागि विधि पूरा गरेर आ–आफ्नो घरमा मात्रै मनाउन उहाँले आग्रह गर्नुभयो ।
लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेहरुको संख्यामा वृद्धि हुँदा जोखिम बढेको अवस्थामा सबैले सतर्कता अपनाउनुको विकल्प नभएको शाक्यको भनाई थियो ।
शाक्यले अझै पनि गृह प्रशासनले असुरक्षित रुपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था भयावह हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
‘अहिलेसम्मको रिपोर्टलाई आधार मान्ने हो भने उपत्यका बाहिरबाट प्रवेश गर्नेहरुमै बढी संक्रमण देखिएको छ,’ उहाँले भन्नुभयो, ‘उनीहरुबाटै समूदायमा समेत कोरोना संक्रमण फैलिन सक्ने संभावना भएकाले सबै भन्दा पहिला उपत्यका प्रवेशका क्रममा सावधानी अपनाउन आवश्यक छ ।’
उहाँले संघीय सरकारले उपत्यका प्रवेश गरेपछि उनीहरुलाई पीसीआर गर्ने र उपचार गर्ने भन्दा पनि जथाभावी उपत्यका प्रवेश गर्ने कुरालाई नै प्रवेश विन्दुबाटै नियन्त्रण गर्नेमा ध्यान दिनुपर्ने कुरा दोहोयाउनुभयो ।
वैठक अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले काठमाडौँ जस्तो जनघनत्व बढी भएको ठाउँमा संक्रमण फैलियो भने जटिल समस्या आउन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।
उहाँले पछिल्लो समय भारतबाट विभिन्न कामका शिलसिलामा उपत्यका प्रवेश गर्नेहरुमा बढी संक्रमण देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले नाका–नाकामा पीसीआर गर्दै आएको स्मरण गराउँदै स्थानीय तहलाई पनि त्यस्ता व्यक्ति आएको थाहा पाए अनिवार्य रुपमा १४ दिन क्वारेन्टीनमा बस्न लगाउन आग्रह गर्नुभयो ।
राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक जितेन्द्र बस्नेतले पनि आफ्नो परिचयपत्रका बारेमा प्रस्तुति गर्नुभएको थियो ।
बैठकले काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन कोष (संचालन) कार्यविधि २०७७, मतिदेवी मन्दिर व्यवस्थापन कार्यविधि, २०७७ र स्वास्थ्य संस्था दर्ता नविकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधी, २०७७ पनि पारित गरेको छ । त्यसैगरी काठमाडौँ महानगरपालिका वडा–९ को भवन निर्माणको भेरिएसन स्वीकृत गर्नेलगायतलाई पनि स्वीकृत गरेको छ ।
Categorized in स्थानीय