arin enterprises

कोभिड अस्पताल बनाउन जोड दिँदै महानगरको कार्यपालिका वैठक सम्पन्न

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २१, मंगलबार

कोभिड १९ बाट संक्रमितहरुको उपचारका लागि ‘कोभिड अस्पताल’ सञ्चालनमा जोड दिँदै काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक सोमबार सम्पन्न भएको छ ।

६१ औँ कार्यपालिका बैठकमा ‘कोभिड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा राखिएको प्रस्तावमा छलफल गर्दै बैठकले सुविधा सम्पन्न आइसोलेसन र कोभिड अस्पतालको उपयुक्त विकल्पसहितको प्रस्ताव पेश गर्न वडा ३ का अध्यक्ष दीपक के. सी. को संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरेको छ ।

समितिको सदस्यहरुमा वडा ६ का अध्यक्ष दिपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का अध्यक्ष दलबहादुर कार्की, ३१ का अध्यक्ष नारायण भण्डारी हुनुहुन्छ ।

समिति गठनपछि महानगर प्रमुख विद्यासुन्दर शाक्यले गएको बर्षभन्दा यसपटक अवस्था फरक भएको विचार राख्दै शंका भएका व्यक्तिलाई जाँच गराएर क्वारेन्टीनमा बस्न प्रोत्साहित गर्नुपर्ने, पर्याप्त आइसोलेसन वार्डहरु तयार गरिनुपर्ने र महानगर आफैँले कोभिडको अस्पताल नै बनाउनु पर्ने आवश्यकता औंल्याउनुभयो ।

‘क्वारेन्टीन निर्माण गर्ने, आइसोलेसन बनाउने र आवश्यकताका आधारमा अस्पतालसम्म बनाउने प्रयोजनका लागि हामीले महानगरभित्र होटल, पार्टी प्यालेस, स्थापना भएर चलेका र नचलेका केही अस्पतालहरुको अवलोकन गरेका छौँ, त्यस क्रममा सहकार्यका लागि प्रस्ताव माग पनि गरेका थियाैँ । केही प्रस्तावहरु पेश भएका पनि छन्’ शाक्यले थप्दै भन्नुभयो ।

शाक्यले बैठकमा गएको बर्ष १० करोड रुपैयाँ राखेर स्थापना गरिएको कोभिड कोषबाट करीब ५ करोड रुपैयाँ खर्च भएको, एम्बुलेन्स सञ्चालनका लागि संयुक्त एम्बुलेन्स चालक संघसँग सहकार्य थालिएको जानकारी गराउनुभएको थियो ।

महानगरले तर्जुमा गर्ने महामारी नियन्त्रणका कार्यक्रममा डा. गणेश गुरुङ्, डा. अर्जुन कार्की, डा. अनुप सुवेदी र डा. सरद वन्तलाई स्वास्थ्यविज्ञका रुपमा आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकमा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, महामारी नियन्त्रणका लागि महानगरले तत्काल निर्णय गरेर सेवा व्यवस्थापनमा लाग्ने बताउनुभयो ।

यसैगरी बैठकले, ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) स्थानीय समिति गठन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि–२०७८’ र ‘छात्रवृत्ति कार्यविधि–२०७८’ तर्जुमा गर्न सहमति दिएको छ । त्यस्तै छत्रपाटी निःशुल्क चिकित्सालय र ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको भवन नक्सा पास दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको छ ।

Categorized in स्थानीय