arin enterprises

लकडाउन अवधिमा कामपाको पहलमा एक लाख बढिलाई खाना खुवाइयो

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ बैशाख २०, शनिबार

लकडाउन अवधि लम्बिएसँगै काठमाडौँ महानगरपालिकाले अतिविपन्न, असहाय र मजदुरलाई दैनिक खाना खुवाउने कार्यलाई निरन्तरता दिएको छ । महानगरपालिकाले आफ्नै स्रोत र विभिन्न सहयोगी संघ–संस्थाहरुको पहलमा अहिलेसम्म एक लाखको हाराहारीलाई खाना खुवाएको छ । 

त्यसैगरी अहिलेसम्म काठमाडौँ महानगरपालिकाले ८१ बढी हजारलाई राहत वितरण गरेको जानकारी दिएको छ । 

‘महानगरपालिका क्षेत्र भित्र रहेका असहाय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्न नपरोस भनेर राहत वितरणसँगै खाना खुवाउने कामलाई पनि निरन्तरता दिदैँ आएका छौँ,’ कामपा प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘लकडाउनको अवधिमा कोही महानगरवासी भोकै परेको भए हामीलाई जानकारी दिनुहोला । हामी उहाँहरुको जिम्मेवारी लिन तयार छौँ ।’ 

उहाँले लकडाउनको अवधिमा केही परोपकारी संस्थासँग पनि सहकार्य गरेर समस्यामा परेकाहरुलाई खाना खुवाउने काम गरिरहेको जानकारी दिनुभयो । अधिकांश वडाले स्थानीय संघसंस्था र सहयोगी दाताहरुसँग सम्वन्य गरेर खाना खुवाउने कामलाई निरन्तरता दिदैँ आएको पनि उहाँले बताउनुभयो । 

केन्द्रलाई पठाएको तथ्याङ्क अनुसार अहिलेसम्म वडा नम्बर–६ ले मात्रै २५ हजार बढीलाई खाना खुवाएको छ । त्यसैगरी वडा–१४ ले १९ हजार बढीलाई खाना खुवाएको छ । 

वडा–३ ले पनि दैनिक दुई हजार बढीलाई खाना खुवाउँदै आएको जानकारी दिएको छ  वडासँग सम्वन्वय गरे बोधिसतुवा बिहारले अव्यबस्थित बस्तीमा भएका परिवार, टिचिङ् हस्पिटल महाराजगञ्ज र कान्ति बाल अस्पतालमा भर्ना भएका बिरामीका कुरुवालाई दैनिक खानाको व्यवस्था गर्दै आएको वडाध्यक्ष दिपक केसीले जानकारी दिनुभयो । 

सामुदायिक सेवा केन्द्रबाट गंगालाल र न्युरो अस्पतालमा भर्ना भएका बिरामीका कुरुवाका लागि खानाको व्यवस्था गर्दै आएको छ । 

काठमाडौँ महानगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा–१५ का अध्यक्ष इश्वरमान डंगोलले पनि आफ्नो वडामा दैनिक १६ सयको हाराहारीलाई एक छाक खानाको व्यवस्था गरेको जानकारी दिनुभयो । 

‘अहिले वडा–१५ का भूइखेल, चःमति, बुद्धपार्क, जनगल्ली विजयश्वरी गरी चार ठाउँमा खाना खुवाउने काम भैरहेको छ,’ प्रवक्ता डंगोलले भन्नुभयो, ‘भोलिबाट अन्नपूर्ण चोक चक्रपथबाट सुरु गर्ने तयारी भएको छ ।

उहाँले वडाकै नेतृत्वमा धादिङ, मकवानपुरलगायतका स्थानका किसानबाट तरकारी ल्याएर उपभोक्तासमम पुर्याउने काम भैरहेको पनि जानकारी दिनुभयो । अब खान नपाउनेहरुलाई खाना पकाएर खुवाउने र सकेसम्म घर–घरमा प्याकिङ सिस्टमको व्यवस्था गर्नेसम्मका विषयमा पनि सोचिरहेको डंगोलको भनाई थियो ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा पनि महानगरपालिकाका विभिन्न स्थानमा सामूहिक मेस नै सञ्चालनमा रहेको छ । महानगरको वडा १६ अन्तरगत बाइपासको तरुण मावि, गंगाहल नजिक होलीगार्डेन स्कुलसँगै, बाइसधारा स्विमिङ पुलको पछाडि बिहान बेलुकी खाना खुवाउने गरिएको छ । 

यस्तै, वनस्थली खरिबोट, सानोभर्याङ, म्हयपि मन्दीरको प्राङ्गण र नयाँबजारमा बिहान बेलुकी नै खाना खुवाउने गरिएको मन्त्री मानन्धरले जानकारी दिनुभएको छ । 

महानगरको १७ नम्बर वडाको इन्द्रायणी मन्दिरमा पनि साँझको खाना खुवाउने गरिएको छ । 

वडा–१८ ले २ हजार र वडा–२७ ले ३ हजार बढीलाई खाना खुवाएको छ । वडा–५ ले पनि २ हजार बढीलाई खाना खुवाएको जानकारी दिएको छ । 

वडा–८ ले पसुपति विकास क्षेत्र कोषसँगको समन्वयमा ५ सय बढीलाई खाना खुवाएको छ । 

कोटेश्वर समाज सुधार युवा क्लव, सेती ओपी क्लव कोटेश्वरलगायतसँगको समन्वयमा वडा–३२ ले पनि ७ सय बढीलाई खाना खुवाएको जानकारी दिएको छ ।

वडा–२२ ले पनि उपकार सेवा समितिको पहलमा न्युरोडमा १ सय बढीलाई खाना खुवाएको छ ।

Categorized in स्थानीय