arin enterprises

कामपाले जबरजस्ती खाली गरायो न्यूरोड मलको बेसमेन्ट

SamacharDesk – बिराज | २०८० माघ २८, आइतबार

बेसमेन्टमा पसल राख्न नपाउने भन्दै काठमाडौं महानगरपालिकाले न्यूरोड मलको बेसमेन्ट खाली गराएको छ ।

बिहिबार विहान करीब ११ बजेतिर नगर प्रहरीको २५–३० जनाको टोली आएर न्यूरोडको बेसमेन्टमा रहेको नेपाली जुत्ता घरका सामानहरु उठाइ खाली गराएको हो ।

मलका संचालक कृष्णलाल महर्जनले भवनको नक्सा र निर्माण सम्पन्न पुर्जामै बेसमेन्ट व्यावसायिक प्रयोजनको लागि भनेर उल्लेख भएको भन्दै कागजात देखाइरहँदा नगर प्रहरीले र्‍याकमा रहेका सबै जुत्ताहरु फाल्दै सामान उठाएर लगेको हो ।

‘मेरो नक्सापासमा बेसमेन्टमा पार्किङ, स्टोर, गोदाम आदि केही लेखिएको छैन, व्यावसायिक प्रयोजन नै उल्लेख छ । एकातिर नगरपालिकाले नै बेसमेन्टमा व्यावसायिक प्रयोजन भनेर नक्सा पास गर्ने र अर्कोतर्फ फेरी नगरपालिकाले नै बेसमेन्टमा पसल राख्न पाइन्न भनेर यसरी सामान उठाउन मिल्छ र ?’ मलका संचालक महर्जनले प्रश्न गरे ।

यस अघि नगर प्रहरी आएर पसल हटाउ भन्न आएको र त्यसपछि महानगरका प्रवक्ता साथै १७ वडाका वडाध्यक्ष नवीन मानन्धरसँग छलफल भइरहेको महर्जनले जानकारी दिए ।

महानगर प्रवक्ता मानन्धरले भने अनुसार आफुहरुले नक्साबारे थप प्रष्ट गरिदिन भनेर कामपामा निवेदन समेत दिएको तर, निवेदनको कुनै जवाफ नदिइ गुण्डागर्दी शैलीमै नगर प्रहरीहरु आएको महर्जनको आरोप छ ।

‘कामपा प्रवक्ता नवीन मानन्धरसँग निरन्तर कुरा भइरहँदा उनले पसल बन्द गराउ त भनेनन् । नगर प्रहरीलाई म खबर गरिदिन्छु भनिरहे तर नगर प्रहरीहरुले हामीलाई थाहा छैन भन्दै यस्तो गरे’ महर्जनले गुनासो गरे ।

जुत्ता पसलमा भएका कर्मचारीहरुले जुत्ता मिलाउँदै प्याक गर्न खोजिरहँदा पनि नगर प्रहरीहरुले र्‍याकमा राखिएका सबै जुत्ताहरु फाल्दै र्‍याक खाली गरेर सामान उठाएर लगेका थिए ।

प्रत्यक्षदर्शीहरुले नगर प्रहरीहरुको यस्तो व्यवहारलाई लुटपाटको शैली भनेर टिप्पणी गरे ।

त्यो समयमा मलमै उपस्थित ज्यापु महागुथिका केन्द्रीय अध्यक्ष सत्यनारायण डंगोलले यो कामपा र नगर प्रहरीको ज्यादती भने ।

‘नक्सापास गर्ने पनि महानगरपालिका, पसल उठाउने पनि महानगरपालिका ? जनताले काम गरेर खान पाउँदैन भनेको हो यो ? एकातिर सम्वाद गरे जस्तो पनि गर्ने अर्कोतिर यसरी दुःख दिने भनेको अन्याय अत्याचार नै हो’ महागुथि अध्यक्ष डंगोलले भने ।

कहिले के त कहिले के भन्दै कामपाले स्थानीय व्यापारी व्यवसायीलाई दुःख दिन थालेको भन्दै डंगोलले यो क्रम नरोकिए कामपाको ज्यादती विरुद्ध आफुहरु सडकमा उत्रिने चेतावनी दिए ।

सोही अवसरमा मलमा उपस्थित हिति अभियानकर्मी यादवलाल कायस्थले मापदण्ड वा नियम यहि एउटा भवनलाई मात्र लागू हुने हो र भन्ने प्रश्न राखे ।

‘वसन्तपुर भित्रै मापदण्ड मिचेर बनाएका त्यत्रो भवनलाई केही गर्न सकेको छैन । कहिले कुमारी, कहिले बेसमेन्ट, कहिले उचाई, कहिले पसल ? भएका नभएका नियम वा मापदण्ड सबै यहि एउटा भवनलाई मात्र लागू भएको हो र ?’ कायस्थले भने ।

अभियानकर्मी कायस्थले पनि महानगरको यस्तो रवैयामा आफु चुप लागेर नबस्ने, आवश्यक परे सडकमा उत्रिने चेतावनी दिएका छन् ।

Categorized in बिजनेस