कान्ति बाल अस्पताललाई कामपाले दियो पीसीआर मेसिन
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ कार्तिक १७, सोमबार

काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।
काठमाडौं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुई मध्ये एक थान पीसीआर मेसिन कान्ति बाल अस्पताललाई आज हस्तान्तरण गरेको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डाक्टर कृष्ण पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी सो मेसिन हस्तान्तरण गरिएको हो ।
करीब रु १६ लाख पर्ने सो मेसिन हस्तान्तरणपछि कामपा प्रमुख शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह गर्नुभयो ।
‘कान्ति बाल अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गरेको यो प्रारम्भिक चरण हो,’ उहाँले भन्नुभयो, ‘तपाईँहरुले त्यहाँ उपचाररत बालबालिकालाई राम्रो सेवा दिनुहोस् । काठमाडौँ महानगरपालिका थप सहयोग गर्न तयार छौँ ।’
कार्यक्रममा बोल्दै कान्ति बाल अस्पतालका निर्देशक डाक्टर पौडेलले महामारीविरुद्धको लडाईँ लडिरहेका बेला काठमाडौँ महानगरपालिकाको सहयोग महत्वपूर्ण भएको भन्दै एक हप्ता भित्रमा हामी सेवा सुरु गर्ने जानकारी दिनुभयो ।
पौडेलका अनुसार हाल अस्पतालमा दैनिक २० देखि ३० जनासम्मको परिक्षणका लागि नमूना संकलन भइरहेको छ । नमूना संकलन गरी अन्य ल्याबमा पठाउनु पर्ने बाध्यता रहेकामा अब अस्पतालमै मेसिन जोडेपछि त्यो समस्या हट्ने पौडेलको भनाई थियो ।
काठमाडौं महानगरपालिकाले गत साउन १९ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसुति तथा स्त्री रोग अस्पताललाई कोभिड – १९ परीक्षणका गर्ने मेसिनसहित अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।
भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका सामाग्रीमध्ये केही सामाग्री ती दुई अस्पताललाई हस्तान्तरण गरेको थियो ।
Categorized in स्थानीय