काठमाडौँ महानगरपालिकाले ल्यायो रु १६ अर्व ४२ करोडको बजेट
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ आषाढ ११, बिहिबार

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि रु १६ अर्व ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सो रकम बराबरको बजेट नगरसभाको सातौँ अधिवेशनमा प्रस्तुत गर्नुभएको हो ।
उहाँले प्रस्तुत गर्नुभएको बजेटमा आर्थिक बिकास क्षेत्रका लागि १७ करोड २३ लाख बिनियोजन गरिएको छ । त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार बिनियोजन गरेको छ ।
काठमाडौँ महानगरपालिकाले पूर्वाधार बिकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट बिनियोजन गरेको छ ।
त्यसैगरी सामाजिक बिकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख बजेट बिनियोजन गरेको छ । साथमा सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३० लाख बजेट बिनियोजन गरेको छ ।
शसर्त अनुदान तर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार बिनियोजन गरेको छ ।
काठमाडौं महानगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ । जसमध्ये अन्तरिक श्रोतबाट कुल रु ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ ।
त्यसैगरी बाह्य श्रोततर्फ निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, शसर्त अनुदानबाट रु २ अर्ब ५७ करोड ५१ लाख ५ हजार, सामाजिक सुरक्षा भत्ता बापत रु १ अर्ब २० करोड, जग्गा एकीकरण बाट ९६ करोड ८ लाख २६ हजार गरी कुल रु ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ ।
कुल आम्दानीमा नपुग हुने रकम रु ३ अरब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ ।
महानगरपालिकाको आन्दानी प्रक्षेपण यस्तो छ
आन्तरिक स्रोतबाट महानगरपालिकाले ६ अर्ब ७६ करोड ६५ लाख आन्दानी गर्ने लक्ष्य लिएको छ ।
जसअन्तर्गत प्रमुख स्रोतका रुपमा रहेको बहाल करबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ भने सम्पत्ति करबाट ८० करोड उठाउने लक्ष्य लिएको छ ।
त्यसैगरी व्यवसाय करबाट ४० करोड, विज्ञापन करबाट ६ करोड असुली गर्ने लक्ष्य पनि महानगरपालिकाले लिएको छ भने शुल्क आयबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ ।
कवाडी करलगायतबाट पनि महानगरपालिकाले आम्दानी गर्ने लक्ष्य लिएको छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट कुल बजेटको ४१ दशमलब १९ प्रतिशत असुल गर्ने लक्ष्य लिएको छ ।
कोभिड–१९ को असर र रोकथाम न्युनिकरणलाई प्राथमिकता
कोभिड–१९ ण्को असर, त्यसको रोकथाम र यसवाट पर्नसक्ने प्रभाबहरुको न्यूनीकरणका लागि विशेष कार्यक्रमहरु बजेट विनियोजनमा उल्लेख गरिएको छ ।
काठमाडौँ महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंग भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क, मेगा हल निर्माण, सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्ध्दन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात ब्यबस्थापन जस्ता कार्यक्रमहरुलाई बजेटमा प्राथमिकतामा राखिएको छ ।
सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत शिप बिकास कार्यक्रम, मेड इन काठमाडौँ, जीबन निर्वाहका लागी पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस संचालन, प्रबिधीमैत्री सिटि लाइब्रेरी, महानगर महिला सहजिकरण केन्द्र स्थापना तथा संचालन, युवासंग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिबिर संचालन जस्ता महत्वपूर्ण कार्यक्रमहरुका लागि पनि महानगरपालिकाले बजेट बिनियोजन गरेको छ ।
गोष्ठी, तालिममा बजेट कटौती, सम्पदा संरक्षण र पूर्वाधारमा जोड
त्यसैगरी काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक बर्षमा सम्पदा संरक्षण तथा सम्बर्दन र पूर्वाधार बिकासलाई महत्व दिई बजेट बिनियोजन गरेको छ ।
गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ ।
कर बक्यौतामा लाग्ने जरिवानामा पूर्ण छुट
काठमाडौं महानगरपालिले कोभिड–१९ को प्रभावका कारण करदाताहरुबाट असुल हुन बांकी रहेको आर्थिक बर्ष २०७६–०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ ।
त्यसैगरी कोभिड–१९ का कारण महानगरबासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक बर्ष २०७७/०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक बर्षमा लाग्ने सम्पत्ति करमा दश प्रतिशत छुट दिने जनाएको छ ।
‘घर जग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा त्यस्तो छुट दिइने छैन,’ आर्थिक विधेयकमा भनिएको छ, ‘सर्वसाधारणहरुको सवारी साधन पार्किङ प्रयोजनका लागि व्यवसायिक रुपमा निर्माण गरिने भवनको हकमा भवन निर्माण सम्पन्न भएको मितिले ५ बर्षसम्म सम्पत्ति कर छुट हुनेछ ।’
होटल तथा पर्यटन क्षेत्रलाई सम्पति करमा भारी छुट
महानगरपालिकाले कोरोना महामारीबाट प्रभावित होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरी होटल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक बर्ष २०७६/७७ सम्मको घरजग्गा कर÷सम्पत्ति कर चुक्ता गरेमा आर्थिक बर्ष २०७७/७८ को सम्पत्ति करमा थप पचत्तर प्रतिशत छुट दिने जानकारी दिएको छ ।
२०७७ पुस मसान्ता भित्र सम्पती कर बुझाएमा हुने दश प्रतिशत छुट समेत जोड्ने हो भने होटल, रिसोर्ट क्षेत्रलाई ८५ प्रतिशत सम्पति करमा छुट हुन आउँछ ।
बार्षिक बहाल करमा १० प्रतिसत छुट
कोरोना महामारीका कारण घर भाडामा बस्ने नगरबासीहरुलाई पर्न गएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिएको घरधनीले स्वघोषणा गरी आर्थिक बर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बार्षिक बहाल करमा दश प्रतिशत छुट गर्ने भएको छ ।
‘तर, आर्थिक बर्ष २०७६/७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाए बापतको बहाल कर छुट नलिई चुक्ता गरिसकेका करदाताहरुका हकमा कोभिड–१९ का कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक बर्ष २०७७/७८ मा बुझाउनुपर्ने बार्षिक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिनेछ,’ आर्थिक विधेयकमा उल्लेख गरिएको छ ।
व्यवसाय करमा ५० प्रतिसतसम्म छुट
त्यसैगरी कामपाले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथामका लागि गरिएको बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा ब्यापार ब्यवसाय गरी बस्ने करदाताहरुलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ ।
महानगरपालिकाले आर्थिक बर्ष २०७७/७८ मा लाग्ने ब्यवसाय करमा होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसँग सम्बन्धित ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा पचास प्रतिशत र अन्य सबै ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा बीस प्रतिशत छुटको व्यवस्था गरेको छ ।
होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा पाँचतारे होटल, चारतारे होटल, तिनतारे होटल,दुइतारे होटल, एकतारे होटल, चलचित्र प्रर्दर्शनी घर, साधारण होटल, लज, गेष्ट हाउस, होमस्टे, होस्ट, रेष्टुरेन्ट एण्ड बार ट्राभल र ट्रेकिङ एजेन्सी, रिक्रियसन खेललगायत रहेका छन् ।
त्यसैगरी होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा विदेशी विमान सेवा स्वदेशी विमान सेवा हस्तकला निर्यात ब्यवसाय, क्यासिनो, वायुयान भाडामा लगाउने व्यावसाय, टे«किङ सामान पसल, डिस्को थेक, नाइट क्लब, विविध मनोरञ्जन सेवा प्रदान गर्ने व्यावसाय, थान्का पसल, बैदेशिक रोजगार संपर्क व्यवसाय, डान्स टे«निङ्ग सेन्टर, संगित सम्वन्धि सेवा प्रदान गर्ने व्यवसायलगायत पर्दछन् ।
Categorized in स्थानीय