arin enterprises

काठमाडौँ महानगरपालिकाबाट पाँच नगरपालिकालाई पाँच करोड सहयोग

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ चैत्र ४, बुधबार

काठमाडौँ महानगरपालिकाले उपत्यकाका पाँच ओटा नगरपालिकालाई एक÷एक करोड रकम सहयोग प्रदान गरेको छ । आ–आफ्नो नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि ती नगरपालिकाहरुलाई सहयोग प्रदान गरेको हो ।

काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उक्त सहयोगको सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले २०७७/०७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नगर–नगर साझेदारी कार्यक्रम शीर्षकमा कागेश्वरी मनोहरा, दक्षिणकाली, ताराकेश्वर, किर्तिपुर र मध्यपुर ठिमी नगरपालिकासँग आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो ।

कार्यक्रमपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पाँच ओटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेकसमेत हस्तान्तरण गरे ।

कार्यक्रममा शाक्यले सम्पदा, पर्यटन र पर्यापर्यावरणलाई ध्यानमा राखेर सहयोग गरेको स्मरण पनि गराउनुभयो ।

सहयाेगबाट कुन नगरपालिकामा के बन्दैछ

दक्षिणकाली नगरपालिका–५ गोरखनाथ डाँडामा अवस्थित बहुद्देश्यीय उद्यान निर्माणका लागि थप एक करोड रकम हस्तान्तरण गरिएको हो । काठमाडौं महानगरपालिकाले यस अघि पनि एक करोड सहयोग गरेको थियो ।

त्यसैगरी ताराकेश्वर नगरपालिका–५ को भ्युटावर र वडा–२ को ताराकेश्वर राष्ट्रिय झण्डा पार्क निर्माणका लागि जम्मा एक करोड सहयोग प्रदान गरिएको हो । यस अघि ताराकेश्वर धाम निर्माणका लागि काठमाडौं महानगरपालिकाले एक करोड सहयोग गरेको थियो ।

त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिका–१ मा अवस्थित प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरीको क्षेत्रलाई समेटी कागेश्वरी धाम निर्माणका लागि पनि रु एक करोड नै सहयोग गरेको छ । यस अघि पनि सो नगरपालिकालाई रु एक करोड सहयोग गरेको थियो ।

किर्तिपुर नगरपालिकामा युद्धस्मारक पार्क निर्माणका लागि पनि आजै सम्झौतापत्रमा हस्ताक्षर गरी काठमाडौँ महानगरपालिकाले रु एक करोड प्रदान गरेको छ । उक्त नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेको वडा १,२ र १० लाई समेटी त्यहाँ करीब ५५ रोपनी क्षेत्रफलमा युद्ध स्मारक पार्क निर्माण भैरहेको छ ।

त्यस्तै मध्यपुर थिमि नगरपालिका–४ मा निर्माणधिन शंखधर पार्क  निर्माणका लागि पनि आजै काठमाडौँ महानगरपालिकाले थप एक करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । यस अघि पनि महागनरपालिकाले सो उद्यान निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गरिसकेको छ । त्यहाँ पनि करीब १० रोपनी क्षेत्रफलमा मण्डला, एम्पिथिएटर चिबहालगायत निर्माण हुँदैछ ।

अन्य दुई नगरपालिकालाई पनि सहयोग गरिने

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकालाई पनि काठमाडौँ महानगरपालिकाले ताथलीमा उद्यान निर्माणका लागि एक करोड रुपैयाँ नै दिने भएको छ । आज सो नगरपालिकाका प्रमुख उपत्यका बाहिर रहेकाले छिट्टै सो सम्झौतामा पनि हस्ताक्षर गर्ने प्रमुख शाक्यले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाले चन्द्रागिरी नगरपालिकालाई पनि मातातिर्थ पार्क निर्माणका लागि रु एक करोड सहयोग गर्ने भएको छ । उक्त नगरपालिकाका प्रमुख पनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपछि सो नगरपालिकासँग पनि छिट्टै सम्झौतापत्रमा हस्ताक्षर हुने महानगरपालिकाले जानकारी दिएको छ ।

यस अघि पनि सो नगरपालिकालाई मदन भण्डारी पार्क निर्माणका लगि रु एक करोड नै सहयोग गरेको थियो ।

केही समय अघि भगिनी सम्बन्ध स्थापना गरेको मेलम्ची नगरपालिकालाई पनि आजै प्रमुख शाक्यले सो क्षेत्रमा मेलम्ची सिटी पार्क निर्माणका लागि रु एक करोड पचास लाख सहयोगको चेक हस्तान्तरण गर्नुभयो । 

Categorized in स्थानीय