arin enterprises

पाँच हजार क्षमताको आइसोलेसन निर्माण गर्दै काठमाडौं महानगरपालिका

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ भाद्र ४, बिहिबार

काठमाडौँ महानगरपालिका उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माणको तयारीमा जुटेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताउनुभयो । 

उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका शाक्यले एक विज्ञप्ती जारी गर्दै संघ, प्रदेश र उत्यका नगरपालिकाहरुको समवन्वय र सहभागितामा आगामी १ हप्ता भित्र करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने गरी तयारी थालेको जानकारी दिनुभयो ।

विज्ञप्तिमा उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको पछिल्लो अवस्थामा परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमितको पहिचान, क्वारेन्टीन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक रहेको पनि उल्लेख गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका संघीय राजधानी समेत भएकाले यहाँ ७७ वटै जिल्लाका नागरिक विभिन्न पेशा–व्यवसायमा संलग्न भएर बस्ने गरेका छन् । यस्तो अवस्थामा कोरोना संक्रमण नियन्त्रण बाहिर गयो भने यसको असर मुलुकभरी नै पर्ने निश्चित छ ।’

शाक्यले सोही विज्ञप्तीमार्फत जनशक्ति, तालिम र स्वास्थ्य सुरक्षा सामग्रीको पर्याप्त मात्रामा व्यवस्था गर्दै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको उचित परिचालन गरी सेवा विस्तारलाई प्राथमिकतामा राखी कार्य अघि बढाउन केन्द्र सरकारसँग अपिल गर्नुभयो ।

उहाँले काठमाडौँ महानगरपालिकाले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्याएसम्म १० वटा कन्ट्याक्ट ट्रेसिङ टोली बनाएर ३२ वटै वडामा एक हजार ७ सय ९५ जनालाई पीसीआर परिक्षण गरिसकेको पनि जानकारी दिनुभएको छ ।

उहाँले महानगरपालिकासँग प्राविधिक टोलीको अभाव रहेको भन्दै यस्तो अवस्थामा दैनिक २०–३० हजार मानिस दैनिक उपत्यका प्रवेश गर्ने र लुकेर बस्ने हो भने ट्रेसिङ गर्न समस्या हुने भन्नुभयो । यस्तो सम्वेदनशील विषयलाई ध्यानमा राखेर उपत्यका प्रवेश गर्ने नागरिक स्वयम्ले सूचना दिन आग्रह गर्नुभएको छ ।

साथै  उहाँले सर्वसाधारण महानगरवासीमा अपिल गर्नुभएको छ, ‘भीडभाड नै कोरोना संक्रमण फैलिने प्रमुख कारण भएको तथ्यलाई ध्यान दिदैँ आम महानगरवासीलाई सकेसम्म अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन, निस्कनु परे पनि भीडभाडमा नजान, जात्रा–पर्व भीडभाड नगरी विधि मात्रै पूरा गरेर मनाउन, उचित रुपमा मास्क प्रयोग गर्न, समय–समयमा सावुन–पानीले हात धुन र सेनेटाइजर प्रयोग गर्न अपिल गर्दछु ।’

विज्ञप्तिमा काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामीलाई अस्पतालसम्म ल्याउन–लैजान सहज होस भन्ने हेतुले काठमाडौँ महानगरपालिकाकै आर्थिक सहयोगमा नेपाल एम्बुलेन्स सेवालाई (१०२) सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ ।

शाक्यले विज्ञप्तिमार्फत स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णयको पनि स्वागत गर्नुभएको छ ।

Categorized in स्थानीय