arin enterprises

लकडाउनमा पनि पूर्वाधार विकासलाई निरन्तरता दिदैँ काठमाडौँ महानगरपालिका

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ जेठ २२, बिहिबार

काठमाडौँ महानगरपालिकाले लकडाउनकै बीचमा पनि विकास निर्माण र पूर्वाधारका कामलाई निरन्तरता दिएको छ । 

काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बन्दाबन्दीको समयमा पनि आकाशे पुल निर्माणसँगै अन्य भौतिक पूर्वाधारका काम अघि बढिरहेको जानकारी दिनुभयो । थापाले केही दिन अघि मात्रै वडा–८ को जयबागेश्वरीमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास हुनुको साथै माइतीघर नजिकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छेउको निर्माणधिन आकाशे पुल करीब–करीब निर्माण सम्पन्न हुने क्रममा रहेको बताउनुभयो ।

जयबागेश्वरीको पुल दशैँभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।

‘आर्थिक वर्ष २०७६÷०७७ मा महानगरपालिका क्षेत्र भित्रका विभिन्न ६ स्थानमा सार्न मिल्ने आकाशे पुल निर्माण गर्ने योजना बनाएका थियौँ,’ थापाले भन्नुभयो, ‘सोही अनुरुप अहिले चावहिल, जयबागेश्वरी र माइतीघर नजिक यस्ता पुल निर्माणको काम अघि बढाएका छौँ ।’ 

उहाँले एक करोडको हाराहारीमा निर्माण हुँदै गरेको माइतीघर नजिकको पुल सकेसम्म असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी काम अघि बढाएको बताउनुभयो । 

८२ लाख ६६ हजारमा निर्माण हुँदै गरेको चावहिलको पुल निर्माणको काम पनि अघि बढेको उहाँले जानकारी दिनुभयो । जयबागेश्वरीको पुल भ्याटबाहेक ६४ लाख ९९ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको हो ।  

यहि आर्थिक वर्षमा कम्तीमा ६ स्थानमा अकाशेपुल निर्माण गर्ने योजना भए पनि विभिन्न कारणले तीन ओटा मात्रै अघि बढेको थापाले बताउनुभयो । 

नयाँ बानेश्वर र कोटेश्वरमा सडक विभागले निर्माण गर्ने भनेकाले अन्य ठाउँको पहिचान गरिरहेको थापाको भनाई हो । 

कम्तीमा १० स्थानमा यस्ता पुल निर्माण गर्ने महानगरपालिकाको योजना छ ।

उहाँले विभिन्न वडाका काम पनि लकडाउनका बेलामा समेत सामाजिक दूरी कायम गर्दै र सुरक्षाका उपायहरु अपनाएर अघि बढाएको बताउनुभयो । 

७, १०, ११, १२, १३, १४,१६ लगायतका वडामा कालोपत्रे गर्ने बाहेक व्लक छाप्ने, ढलान गर्ने, ढल निर्माण गर्ने, वडा कार्यालय भवन निर्माण गर्ने जस्ता भौतिक पूर्वाधारका कामलाई निरन्तरता दिइएको छ ।

करीब २ सय करोडका आयोजनाहरु चालु अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । थापाका अनुसार महानगरपालिका क्षेत्र भित्रका सामूदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गर्नेलगायतका कामलाई पनि बन्दाबन्दीका बेला निरन्तरता दिइएको छ ।

महानगरपालिकाले सामुदायिक विद्यालय भित्रका खुला स्थानहरुलाई धुलोमुक्त बनाउने, फलफुलका विरुवा रोप्ने, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, खुला क्षेत्रमा पानी पुनर्भरण (रिचार्ज) कार्यक्रम, फोहोरमैला राख्ने भाँडोको प्रवन्ध गर्ने, सबै विद्यालयमा बालमैत्री चित्र र महावाणी लेख्ने एवं एउटै रंग लगाउने कार्यक्रम सञ्चालन गर्ने जस्ता नीति लिएको छ ।

काठमाडौँ महानगरपालिकाले जिवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ जारी गरिसकेको छ । 

बन्दाबन्दीको अवस्था लम्विदै गएको खण्डमा श्रममा आधारित पारिश्रमिकको व्यवस्थाका लागि कार्यविधि नै जारी गरेको महानगरपालिकाले त्यस्ता श्रमिकहरुलाई सार्वजनिक  पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत–सम्हार, ढल निर्माण तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौदर्यीकरण, फाहोर–मैला व्यवस्थापन जस्ता काममा लगाउने तयारी गरेको छ ।

Categorized in स्थानीय