काठमाडौँ महानगरपालिकाका २५ सामूदायिक विद्यालयमा आविष्कार क्लब
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ माघ ९, शुक्रबार

काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका २५ वटा सामूदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्ध्दनका लागि आविष्कार (स्टीम क्लब) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्रका छनोटमा परेका २५ वटा विद्यालयमा पहिलो चरणका लागि उक्त कार्यक्रम सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौता पत्रमा हस्ताक्षर पछि उक्त कार्यक्रम सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले छनोटमा परेका ती सबै विद्यालयलाई एक/एक लाख अनुदान दिएको छ ।
साे अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नयाँ सोचका साथ ल्याएको उक्त कार्यक्रमलाई व्यवहारिक रुपमा लागु गर्न विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गनुभयो ।
साथै सामूदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेको भन्दै राज्यको नीति अनुसार सर्वसुलभ र गुणस्तरीय शिक्षा दिई निजीको भन्दा राम्रा विद्यार्थी उत्पादन गर्नुपर्नेमा महानगर प्रमुख शाक्यले जोड दिनुभयो ।
‘सामूदायिक विद्यालयका शिक्षकले निजी विद्यालयमा विद्यार्थीको चाप बढी भयो भनेर चिन्ता लिने होइन, गुणस्तरीय शिक्षामा जोड दिँदै सामूदायिक विद्यालयप्रतिको आकर्षण बढाउनतर्फ केन्द्रित हुनुपर्छ’ शाक्यले भन्नुभयो ।
शाक्यले विद्यालय शिक्षा अहिले स्थानीय सरकारको मातहतमा रहेको भन्दै महानगरपालिका आवश्यक लगानी गर्न तयार रहेको पनि स्मरण गराउनुभयो ।
काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत यो क्रार्यक्रमको छनोटमा परेका विद्यालयहरुमा कक्षा–९ सम्मका १५ देखि २० जना सम्म विद्यार्थीको सहभागितामा आविष्कार क्लब गठन गरिने जानकारी दिनुभयो ।
Categorized in स्थानीय