काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई नागरिक अभिनन्दन
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ चैत्र २४, मंगलबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई आज काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ । आज काठमाडौंको वसन्तपुरमा आयोजित भव्य समारोहका बीच मेयर शाक्य र उपमेयर श्रेष्ठलाई अभिनन्दन गरिएको हो ।
काठमाडौं महानगरपालिकाले आफु मातहतका सामुदायिक विद्यालयका लागि स्थानीय भाषामा स्थानीय पाठ्यक्रम लागू गरेकोमा खुसी व्यक्ति गर्दै नेवाः समुदायले आज शाक्य र श्रेष्ठलाई अभिनन्दन गरिएको हो ।
नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लाले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मेयर शाक्य र उपमेयर श्रेष्ठलाई दोसल्ला ओढाउनुका साथै अभिनन्दन पत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा विभिन्न संघसंस्थाहरुले समेत सम्मान पत्रको साथमा विभिन्न उपहारहरुसहित मेयर र उपमेयरलाई सम्मान गरेका थिए ।
‘नेपालभाषा सिक्ने उपप्रधानमन्त्रीको वचन’
कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी ३ वर्षको भित्रमा नेपालभाषा सिकेर नेपालभाषामै कार्यक्रमलाई सम्वोधन गर्ने वचन दिनुभएको छ ।
नेपालको पहिचान नेवार समुदाय र नेपालभाषा भएकोमा आफुलाई गर्व लाग्ने गरेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय भाषामा स्थानीय पाठ्यक्रम लागू गरेकोमा काठमाडौं महानगरपालिकाको प्रशंसा गरे ।
‘काठमाडौं महानगरपालिकाले स्थानीय भाषामा स्थानीय पाठ्यक्रम लागू गरेको प्रशंसनीय छ, यसबाट अरु स्थानीय सरकारले पनि सिक्नुपर्छ र यस कदमलाई पछ्याउनुपर्छ’ पोखरेलले भने ।
त्यसैगरी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले स्थानीय भाषाबाट शिक्षा दिन सकेमा मातृभाषा संरक्षणमा टेवा पुग्ने विचार राख्नुभयो । संविधानले नै मातृभाषा शिक्षाको अधिकार सुनिश्चित गरिसकेको भन्दै सरकार आदिवासी जनजातिको भाषा, कला, संस्कृतिको संरक्षणका लागि गम्भीर रहेको दावी गरे ।
कार्यक्रममा बोल्दै जनकवि दुर्गालाल श्रेष्ठले नेवाः समुदायले निकै समय अघिबाट मातृभाषा शिक्षाको माग राखेर संघर्ष गर्दै आएको बताउँदै अब आएर बल्ल आफ्नो सपना साकार हुन लागेको अनुभूति भइरहेको बताए ।
सम्मान कार्यक्रमभन्दा अघि बसन्तपुरबाट र्याली निकालिएको थियो । मेयर शाक्य र उपमेयर श्रेष्ठलाई साथ राखेर बाजागाजासहित निकालिएको र्यालीले नगर परिक्रमा गरेको थियो ।
Categorized in स्थानीय