खोप केन्द्रको अनुगमनमा मेयर शाक्य
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ फाल्गुण २९, शनिबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगरपालिका क्षेत्र भित्रका कोभिड विरुद्धको खोप केन्द्रको अनुगमनको क्रमलाई निरन्तरता दिएका छन् ।
सोही सिलसिलामा मेयर शाक्यसहितको टोली बालाजुस्थित जनमैत्री अस्पताल पुगेका छन् । अस्पताल पुगेर मेयर शाक्यले त्यहाँ खोप लगाउन आएका सर्वसाधारणसँग भलाकुसारी पनि गरे ।
कुराकानीको सिलसिलामा प्रमुख शाक्यले देशको प्रधानमन्त्री, मन्त्रीहरु र आफुले समेत खोप लगाइसकेको भन्दै आम नागरिकलाई पनि ढुक्क भएर खोप लगाउन हौसला दिने उद्देश्यले अनुगमनमा निस्केको बताउनुभयो ।
‘तपाईँहरुले खोप लगाउनुभयो अब यो सन्देश टोलटोलमा लिएर जानुहोला र सबैलाई खोप लगाउन प्रोत्साहन गर्नुहोला’ मेयर शाक्यले भन्नुभयो ।
खोप लगाउँदा कुनै समस्या नहुने र केही समस्या देखिहालेमा ३२ वटै वडाका जनप्रतिनिधिहरु घर–दैलोमै आएर आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
प्रमुख शाक्य प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सम्वन्धित केन्द्रका वडाका जनप्रतिनिधिसहित विरेन्द्र सैनिक अस्पताल छाउनी र ओम अस्पताल एण्ड रिसर्च सेन्टर चावहिल केन्द्रमा पनि अनुगमनका लागि पुगेका छन् ।
प्रमुख शाक्य ओम अस्पताल पुग्दा अस्पतालका अध्यक्ष डाक्टर आनन्द श्रेष्ठ जेष्ठनागरिकलाई खोपलगाउन प्रोत्साहन दिइरहनु भएको थियो ।
उहाँले चावहिल केन्द्रबाट मात्रै बिहीबारसम्म १२ सय ८७ पुरुष र १२ सय ३७ महिलाले खोप लगाएको र कसैलाई पनि गम्भीर ज्वरो आउनेलगाएतको ठूलो समस्या नदेखिएको भन्दै ढुक्कसँग खोप लगाउन आग्रह गर्नुभयो ।
अहिले पनि केही नागरिकमा कोरोनाविरुद्धको खोप लगाउनु हुन्न भन्ने भ्रम रहेको भन्दै शाक्यले त्यस्तो भ्रममा नपरी ढुक्कसँग खोप सुविधा लिन आग्रह गर्नुभयो ।
शहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले फागुन २८ गतेसम्म काठमाडौं महानगरभित्र ३३ हजार १ सय ३७ जनाले खोप लगाएको बताउनुभयो ।
Categorized in स्थानीय