arin enterprises

काठमाडौं महानगरपालिकाको प्राथमिकतामा सम्पदा संरक्षण

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण ३, शनिबार

काठमाडौँ महानगरपालिकाले ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनलाई प्राथमिकतामा राखेर निर्माण र पुनर्निर्माणको काम अघि बढाएको छ ।  

पोखरी, मन्दिर, ढुंगेधारा, बहाःबही लगायतका ऐतिहासिक, साँस्कृतिक साथै धार्मिक सम्पदाहरुको निर्माण र पुनर्निर्माणको कामलाई कामपाले तीव्रता दिन थालेको हो ।

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ९० वढी शीर्षकमा सम्पदा निर्माण–पुर्ननिर्माणलगायतका लागि बजेट विनियोजन गरेको छ । 

यसले पनि महानगरपालिकाले सम्पदा निर्माण–पुर्ननिर्माणलाई प्राथमिकतामा राखेको संकेत देखिन्छ । 

आर्थिक वर्ष २०७७/०७८ का लागि महानरपालिकाले अघि सारेका कला, संस्कृति र सम्पदाको संरक्षण र सम्वर्ध्दन शीर्षकका योजना २० लाखदेखि २ करोडसम्मका छन् ।   

हालै मात्र पनि कामपाले २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त काठमाडौँ महानगरपालिका वडा–२२ वटु टोलमा अवस्थित नासःद्यः (नाट्यश्वर) को द्यःछेँ (भगवानको घर) पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने जनाइसकेको छ । 

नासःद्यः द्यःछेँ पुर्ननिर्माणका लागि करीब १ करोड २५ लाख लाग्ने अनुमान गरिएको छ ।  

‘यहाँका स्थानीय सम्पदा हाम्रो पहिचान हो, यसको संरक्षण काठमाडौं महानगरपालिकाको दायित्व भित्र पर्छ’ कामपा उप प्रमुख हरिप्रभा खड्गीले भनिन् । ‘महानगर प्रमुख, म आफैं, वडाध्यक्ष र प्रत्येक वडाका जनप्रतिनिधिहरु सम्पदा संरक्षणमा अहोरात्र खटिरहेका छौं ।’

यस अघि काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा कीर्तिपुण्य महाविहार दुगुद्यः, दुर्गा विनायक मन्दिर, मुगःद्यः, वलाछेँ त्वाःछेँ, स्वयम्भू स्तुप भजनघर लगायतका  पुनर्निर्माण सम्पन्न गरिसकेको छ । 

त्यसैगरी सत्यनारायण मन्दिर, लयाश्वर मन्दिर, दीप्याखं (देवीनाच) द्यःछेँ, कोटेश्वर महादेवस्थानमा भगवती मन्दिर, जनबहाः दिगिछेँ, किलाघः त्वाःछेँ, न्हयमू त्वाःछेँ, वटु भद्रकाली मन्दिर, भगवान बहाल, गोरखनाथ मन्दिर परिसर, पञ्चेधारा निर्माणको कामलाई पनि पूर्णता दिएको छ ।

टेबहालस्थित क्वाःपाःद्यःछेँ, क्वहिटी सत्तल तथा बहाल, मणीसंघ महाविहार, परम्परागत लायकूसाः गुठी भवन, नाट्येश्वरी गुठी भवन, नित्यनाथ गुठी भवन आदिको पुनःनिर्माण कार्य अघि बढिरहेको महानगरपालिकाले जानकारी दिएको छ । 

‘यहाँका ऐतिहासिक, धार्मिक सम्पदाहरुको संरक्षणलाई काठमाडौं महानगरपालिकाले प्राथमिकतामा राखेको छ, कामपा प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो । ‘यस्ता सम्पदाहरुको संरक्षणका लागि काठमाडौं महानगरपालिका आफै सक्षम छ र यसको संरक्षणका कामहरु निरन्तर अघि बढि नै रहन्छ ।

काठमाडौं महानगरभित्रका विभिन्न परम्परागत बाजा खलकका गुरुहरुको सम्मानलाई निरन्तरता दिने योजनाको शुरुवात २०७६ मंसीर २९ गते सम्पन्न २५औं महानगर दिवसमा विभिन्न बाजा गुरुहरुको सम्मान गरिएको थियो ।

यसको साथमा ऐतिहासिक सोह्रखुट्टे पाटी पुनर्स्थापना गर्ने जस्ता कार्य सम्पन्न हुने चरणमा रहेका छन् । 

साथै २०७२ सालको भूकम्पमा पुर्ण रुपमा क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा समावेश गर्दै यसको लागि बजेट छुट्याइसकेको छ ।

विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीमा गुरुयोजना अन्तर्गत नेपाल बज्रयान महाबिहारमा मौलिक परम्परागत प्रवेशद्वार, झ्याल तथा टुँडाल निर्माणको लागि नेपाल परम्परागत बौद्ध धर्म संघलाई, धम्महल भवन निर्माणको लागि अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र बुद्धनगरलाई र भवन निर्माणको लागि बागबजारस्थित बुद्धबिहारलाई आर्थिक सहयोग उपलब्ध गराउने जस्ता कार्य पनि महानगरले गरेको छ ।

Categorized in स्थानीय