कामपाबाट २ महिनामा ४५ सय बढीलाई निःशुल्क एम्बुलेन्स सेवा
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ जेठ ३२, आइतबार

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगबाट सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिभरीमा करीब ४ हजार पाँच सयलाई निःशुल्क सेवा प्रदान गरेको छ ।
हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान र ल्याउनका लागि महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थियो ।
एम्बुलेन्सले लकडाउन अवधीभर एकतर्फी करीब तीन हजार र दुईतर्फी करीब ४ हजार पाँच सयलाई सेवा दिएको काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले लकडाउनका बेला हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरुलाई २४सै घण्टा आकस्मिक निशुल्क एम्बुलेन्स सेवा दिने उदेश्यले सो सेवा सुरु गरेको जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाले लकडाउन अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता विरामीलाई यातायातको सुविधा उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान र ल्याउन समस्या भए हटलाइन नम्वर ११८० मा सम्र्पक गर्न पनि आग्रह गरेको थियो । सो हटलाइनमा लकडाउन अवधीभर ६ हजार बढीले सम्पर्क गरेका थिए ।
एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) लाई आर्थिक सहयोग गरी काठमाडौँ महानगरपालिकाले लकडाउन अवधीभर निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थियो ।
काठमाडौँ महानगरपालिकाले मुख्य गरेर डायलोसिस गर्नुपर्ने विरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेकालगायतका विरामीलाई प्राथमिकतामा राखेर पाँच ओटा एम्बुलेन्सबाट लकडाउन अवधीभर सेवा दिएको हो ।
एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) का अध्यक्ष गणेश सापकोटाले चक्रपथ बाहिर दुई किलोमिटरसम्मका विरामीलाई समेत वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इाइलोसिस सेन्टरलगायतका स्थानसम्म लैजाने र ल्याउने गरेको जानकारी दिनुभयो ।
सुरुमा बैशाख १ बाट एक महिनाका लागि सो संस्थासँग सम्झौता भएको थियो । पछि पुनः लकडाउन लम्बिएकाले एक महिना समय थप भएको हो ।
काठमाडौँ महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले दुई पक्षबीच भएको सम्झौता आजबाट सकिएको जानकारी दिनुभयो ।
लकडाउन अवधिभरीका लागि मात्रै सम्झौता गरेको र अहिले लकडाउन खुकुलो भएर सवारी पनि चल्न थालेकाले महानगरपालिकाले उपलब्ध गराउँदै आएको निःशुल्क एम्बुलेन्स सेवा तत्कालका लागि स्थगन गरेको बज्राचार्यले भन्नुभयो ।
काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भए उनीहरुलाई सेवा दिन भन्दै काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवालाई (१०२) लाई भने तयारी अवस्थामा राखेको छ ।
Categorized in स्थानीय