महानगरले गर्यो थप ३ वटा अस्पतालसँग सम्झौता
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ १, शनिबार

काठमाडौं महानगरपालिकाले कोभिडको संक्रमितको सहज उपचारका लागि आज थप ३ वटा अस्पतालसँग सहयोग सम्झौता गरेको छ ।
महानगरले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँग सम्झौता गरेको हो ।
आज सम्झौता भएका अस्पतालहरुमध्ये सहिद गंगालाल अस्पताललाई महानगरले ५ थान भेन्टिलेटर सहयोग प्रदान गर्नेछ ।
त्यस्तै शुक्रराज ट्रपिकल अस्पताललाई १० वेडको स्टाफ अव्जर्वेसन कक्ष स्थापनाका लागि करीब ११ लाख रुपैयाँ नगदको साथै १० हजार थान अट्राक्टस किट खरिद गर्दाको बिलबमोजिम रकम अनुदान सहयोग गरिनेछ ।
‘महामारीको जोखिम घटाउन सरकार, अस्पताल र नागरिक सबैको समान दायित्व छ । सबैले आआफ्ना दायित्व पूरा गर्ने हो भने खतरालाई चाँडै नियन्त्रणमा लिन सकिन्छ’ सम्झौता पछि महानगर प्रमुख शाक्यले भन्नुभयो ।
त्यस क्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौं महानगरले अस्पतालको क्षमता बढाउन सहयोग गरेर महानगरको अभिभावकीय भूमिका अझ बढेको विचार राख्नुभयो ।
उहाँले मध्यपुर थिमी नगरले सञ्चालन गरेको नेपाल कोरिया मैत्री अस्पतालको क्षमता बढाउन महानगरले उपलब्ध गराएको सहयोगबाट अन्तरनगर सम्बन्ध अझ प्रगाढ भएको उल्लेख गर्नुभयो ।
त्यसैगरी गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले ‘काठमाडौँ महानगरले स्थापना गरिदिएको अक्सिजन प्लान्टका कारण अहिले गंगालाल अस्पतालले अक्सिजन खोज्दै हिँड्नु नपरेको बताउनुभयो ।
‘अब भेन्टिलेटर प्राप्त हुने भएको छ, यसले कोभिड भएका विरामी र पछि मुटुको शल्यक्रिया गरेका विरामीलाई जीवन रक्षा गर्न मद्दत पुग्नेछ’ निर्देशक अधिकारीले भन्नुभयो ।
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले भन्नुभयो, ‘विकास समितिअन्तर्गत चलेको यो अस्पतालका केही कर्मचारीहरुको सेवा कसरी उपलब्ध गराउने अस्पताललाई यो चिन्ता छ । नियमित आय छैन, अहिले महानगरबाट सहयोग पाएपछि आशा बढेको छ ।’
गएको बैशाख २८ गते महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर कोभिड संक्रमणविरुद्ध लड्न कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको थियो । त्यसपछि अस्पतालहरुले आफ्नो क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनका लागि सहयोग सम्बन्धी माग गरे अनुसार सम्झौता गरिएको हो ।
यसअनुसार बैशाख ३१ गते वीरेन्द्र सैनिक अस्पताल, छत्रपाटी निःशुल्क चिकित्सालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल र जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौँ मोडल अस्पतालसँग सहयोग सम्झौता गरेको थियो ।
सम्झौता अनुसार महानगरले अनुदान दिएका अस्पतालहरुले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनुपर्छ । खर्च र लेखा परीक्षण प्रचलित कानुनले दिएको अधिकारबमोजिम गर्नुपर्छ । लेखा परीक्षणको प्रतिवेदन महानगरलाई पनि बुझाउनु पर्छ । परिस्थिति र आवश्यकताका आधारमा सम्झौता थप गरेर साझेदारिता निरन्तर हुन सक्ने सम्झौतामा उल्लेख छ ।
महानगरले अहिलेसम्ममा १२ वटा सरकारी र सामुदायिक अस्पतालसँग सम्झौता गरिसकेको छ ।
Categorized in स्थानीय