खुलामञ्चमा खुला गर्न डोजर चल्यो
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ फाल्गुण ६, बिहिबार

काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्नको लागि काम थालेको छ ।
दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको निर्माण पनि अन्तिम चरणमा पुगेपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चमा रेका उक्त संरचनाका निर्माण सामग्री हटाउन थालेको हो । साथै, त्यहाँ बनाइएको अस्थायी संरचनाहरु समेत डोजर चलाएर हटाइएको छ ।
‘दरबार हाइस्कुल र वीर अस्पतालको पुर्ननिर्माणको क्रममा त्यहाँका निर्माण सामग्रीहरु र केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भन्नुभयो, ‘अब काम सिद्धिएको र सिद्धिने चरणमा पुगेको अवस्थामा उहाँहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ ।’
विस्तारै बसपार्क पनि खुला गर्ने शाक्यले जानकारी दिनुभयो ।
काठमाडाैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले महानगर प्रमुखकै निर्देशन र दरबार हाइस्कुल, वीर अस्पताल प्रशासनसँग निरन्तर छलफलपछि खुलामञ्चमा रहेका सामग्री र संरचना हटाउन थालिएको बताउनुभयो ।
हाल दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ ।
पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्याली, आमसभा हुन थालेपछि महानगरवासीले सास्ती खेप्नुपरेको अवस्थाप्रति पनि महागनरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको बताउनुभयो ।
‘अस्थायी वसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठुला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्ने दिन सवारी आवागमन अस्तव्यस्त नहोस भन्नका लागि सवारीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरेको छ’ ज्ञवालीले भन्नुभयो ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई पत्र काटेरै खुलामञ्च खाली गर्ने वातावरण बनाउन आग्रह गरेको जानकारी दिनुभयो ।
तीनवटै निकायलाई पत्र काटिसकेर महानगरपालिकाले खुलामञ्च खुला गर्ने काम थालेको सापकोटाले बताउनुभयो ।
Categorized in स्थानीय