कामपाले कान्ति अस्पतालको फोहोर नउठाउने
SamacharDesk – बिराज | २०८० फाल्गुण १, मंगलबार

काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ ।
आज अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि फोहोर उठाउन नसकिने जानकारी अस्पताललाई दिइएको हो ।
महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अस्पतालको अनुगमन गरिएको थियो ।
‘अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो । रोग उपचार गर्न आउने ठाउँ नै रोग उत्पादन स्थल बन्नु हुँदैन’ उपप्रमुख डंगोलले भनिन् ।
वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले अस्पतालमा फरक प्रकृतिको फोहोर राख्न रङ्ग संकेतको पालना नभएको र हानीकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिएपछि अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाइएको बताए ।
‘स्रोतमा फोहोर छुट्टिएको, हानीकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुन प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको एकिन नहुञ्जेल फोहोर उठाउँदैनौँ’ विभाग प्रमुख श्रेष्ठले भने ।
अस्पतालले हानीकारक फोहोर निर्मलीकरण गर्नका लागि उपकरण जडान गरेको छ । यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउनु पर्ने टोलीले सुझाव दिएको छ ।
आजै कामपाको अनुगमन टोलीले महाराजगञ्जस्थित इन्टरनेशनल फ्रेन्डसिप चिल्ड्रेन हस्पिटलको पनि अनुगमन गरेको छ ।
अस्पतालमा स्रोतबाट संकलन भएको फोहोर प्रशोधन कक्षमा पुगेपछि एकै ठाउँमा हुने गरेको देखिएको र हानीकारक फोहोर निर्मलीकरणका लागि राखिएको अटोक्लेभ मेसिन सञ्चालन नगरिएको पाइएको बताइएको छ ।
अनुगमन टोलीले अस्पताललाई वर्गीकरण भएको फोहोर प्रकृतिअनुसार व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
Categorized in स्थानीय