आज कोजाग्रत पूर्णिमा, बडा दशैं सम्पन्न हुँदै
SamacharDesk – बिराज | २०७९ आश्विन २३, आइतबार

आज आश्विन शुक्ल पूर्णिमा, बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा । बडादशैंका टिका लगाउने र ठुलाबडाबाट आशिर्वाद थाप्ने आज अन्तिम दिन हो ।
आश्विन शुक्ल प्रतिपदा घटस्थापनको दिन आगम वा पूजा कोठा अथवा दशैं घरमा कलश स्थापना गरी लगाइएको जमरा आज विसर्जन गरेपछि यस वर्षको बडादशैं विधिवत रुपमा सम्पन्न हुने गर्दछ ।
प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिन्छ ।
दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ । आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनाको दिनबाट सुरु हुने दुर्गा पक्ष कोजाग्रत पूर्णिमाको रातमा सम्पन्नताकी देवी महालक्ष्मी देवीको पूजा आराधनासँगै सम्पन्न हुने गर्दछ ।
आजको रातमा पूर्णिमा व्रत बसी दिपावली गर्दै रातभर जाग्राम बस्ने गरिन्छ । कोजाग्रत पूर्णिमाको रातमा दिपावली गरिएको घरमा पृथ्वीको भ्रमण गर्दै हिँडेकी धनधान्यकी देवी महालक्ष्मी प्रवेश गर्ने र धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ ।
आजको दिनलाई शरद पूर्णिमा पनि भनिन्छ ।
कोजाग्रत पूणिमाका दिन राष्ट्रप्रमुखबाट भक्तपुर गःछेँस्थित नवदुर्गा पीठमा पुजा अर्चना गरी बडादशै समापन भएको जनाउ दिने प्रचलन रहेको छ ।
कोजाग्रत पूर्णिमाको भोलिदेखि आकाशदीप बाल्ने परम्परा रहेको छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ ।
कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूणिर्मासम्मसाँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलन छ ।
Categorized in संस्कृति