arin enterprises

नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त

SamacharDesk | २०८० श्रावण १६, मंगलबार

प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।

सरकार गठन गर्न संविधानको धारा १६८ ९२० बमोजिम मङ्गलबार साँझ ५ बजेभित्र चार राजनीतिक दलको समर्थनसहित दाबी पेस गर्नुभएको थापालाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक व्यवस्था छ । सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ ।

तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्याएको हो । एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन ।

सभामुख गौतमले राजीनामा नदिएको अवस्थामा सरकार गठनका लागि गठबन्धन दलको बहुमत नपुग्ने र त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा गौतमले पदबाट राजीनामा दिन सहमत हुनुभएको हो ।

सर्वोच्च अदालतले तटस्थ भूमिकामा रहँदा सभामुख गौतमको समर्थनमा प्रदेश प्रमुख खापुङले गठबन्धन दल कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने गरेको निर्णय बिहीबार बदर गर्दै परमादेश जारी गरेपछि खापुङले सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

Categorized in राजनीति