महानगरले सुरु गर्यो छोटो अवधिको शीपमुलक तालिम
SamacharDesk | २०८० बैशाख १३, बुधबार
काठमाडौं महानगरपालिकाले सामुदायिक माध्यमिक विद्यालय तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रम शुरुवात गरेको छ ।
महानगरपालिकाले हिजो काठमाडौंमा माध्यमिक तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको शुरुवात गरेको हो ।
पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनउपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रम थालनी गरिएको महानगरले जनाएको छ ।
महानगरले काठमाडौं महानगर क्षेत्र भित्रका ५६ वटा सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई छोटो अवधिको सीपमुलक तालिम र पुस्तक बिहीन कार्यक्रमको थालनी गरेको छ ।
महानगरपालिकाले विद्यालयमा विद्यार्थीले पुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनउपयोगी, सीपमुलक र व्यवहारिक शिक्षा प्रादन गरी स्वरोजगार हुने जनशक्ति तयार पार्ने उद्देश्य लिएको छ ।
९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन् ।
फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिनेछ ।
कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले महानगरले शुरु गरेको छोटो अवधिको सीपमुलक तालिम कार्यक्रम नयाँ नभएर गुरुकुल शिक्षामा लागेको ब्रेकलाई निरन्तरता दिएको बताउनु भयो । उहाँले महानगरले विद्यालयमा सीप मात्रै नभएर मानिसको जीवन के हो भनेर सिकाउन खोजिएको बताउनु भयो ।
महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो जीवन शैलीलाई व्यवस्थित बनाउने सीप हातमा छैन भने पढेर ल्याएको उच्च नम्बर, अंक र प्रतिशतले काम नगर्ने बताउनु भयो ।
उहाँले परीक्षामा विद्यार्थीहरुको कति प्रतिशत नम्बर आयो प्रथम, द्वितीय भए भन्ने कुरा क्षणिक भएको भन्दै त्यो एक छिनको लागि महत्वपूर्ण जस्तो लाग्ने बताउनु भयो । सो शीपमुलक तालिम संचालनका लागि विद्यालयले कार्यक्रम सञ्चालन गर्दा सूचना प्रकाशन गरेर जनशक्ति माग गर्नुपर्नेछ ।
यसरी सूचना प्रकाशन गर्दा योग्यता प्राप्त गरेका जनशक्ति प्राप्त हुन नसके विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विषयसँग सम्बन्धित दक्ष व्यक्ति वा सेवा प्रदायक संस्थाहरुसँग सत्रका आधारमा सेवा करार लिई वैकल्पिक प्रशिक्षकको व्यवस्था गर्न सक्ने बताइएको छ ।
Categorized in स्थानीय