arin enterprises

खुलामञ्चमा हरियाली

SamacharDesk | २०८० जेठ १२, शुक्रबार

काठमाडौं महानगरपालिकाले नयाँ नेतृत्व पाएपछि महानगरपालिकाको काममा तदारुकता देखिन थालेको छ ।

नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउनका लागि महानगरको तिब्रता देखिन थालेको छ । गएका दिनहरुमा महानगरलाई सुन्दर बनाउन अव्यवस्थित तारहरु हटाउने, अव्यस्थित फुटपाथ पसल हटाउने कार्य गरिएको थियो ।

यसै कार्ययोजना अन्तर्गत शुक्रबार भने काठमाडौंमा स्वच्छ वातावरण बनाउनका लागि खुला मञ्चभित्र वृक्षारोपण गरेको छ । काठमाडौंलाई हरियाली क्षेत्र बनाउने उद्देश्यले महानगरभित्रका विभिन्न ठाउँमा बोटबिरूवा रोप्न सुरू गरिएको महानगरले जनाएको छ ।

अहिले खुलामञ्चको चारै कुनाको छेउमा झण्डै सय वटा भन्दा बढी कपुरका विरुवाहरु रोपेका छन् । विज्ञहरुको सुझाव अनुसार कपुरले अक्सिजन धेरै दिने हुँदा खुला मञ्चमा कपुर रोपेको महानगरले जनाएको छ ।

यसैगरी महानगरले एकसातादेखि नै राजधानीका विभिन्न ठाउँमा बोटविरुवा रोप्ने काम भइरहेको छ । महानगरले कोटेश्वर, कालीमाटी, त्रिपुरेश्वर, माइतीघर, तीनकुने लगायत क्षेत्रमा बिरूवाहरू रोपेका छन् ।

यस्तै मरेका रुखका विरुलाई निकालेर नयाँ विरुवा रोप्ने कामहरु वडाले आफ्नो मातहतका ठाउँहरुमा गरिरहेको छ ।

त्यस्तै विभिन्न संघ सस्थासँग सहकार्यमा एक हजार बिरूवा रोपिसकेको महानगरले जनाएको छ । 

Categorized in स्थानीय