arin enterprises

न्हूघःस्थित कुमार कात्र्तिकेको महास्नान सम्पन्न

SamacharDesk – राम डंगोल | २०८१ जेठ २८, सोमबार

हरेक वर्ष झैं यस वर्ष पनि काठमाडौंको न्हूघःस्थित कुमार कात्र्तिकेको महास्नान (न्हवं) सम्पन्न भएको छ ।

महादेव र पार्वतीको ज्येष्ठ सुपुत्र कुमार कात्र्तिकेलाई नेपालभाषाबाट सिद्धि द्यः पनि भन्ने गरिन्छ । नेवार समुदायको महत्वपूर्ण चाड मध्ये एक सिथि नखःको चार दिन अघि कुमार कात्तिकेको महास्नान गर्ने चलन रहिआएको छ ।

सो अवसरमा पुजारी, पान्जुहरुबाट पुजाआजा गरी परम्परागत बाजागाजासहित देवता घरबाट कुमार मण्डपसम्म बोकेर ल्याएको थियो । तत्पश्चात देवतालाई मण्डपमा राखी पूजाआजा गरी सुरुमा दूघबाट र त्यसपछि जलबाट महास्नान गरियो ।

बुधबार सिथि नखः पर्वको एक दिन अघि कुमार कात्तिकेको पाटीमा राखी कर्म पूजा, होम गरी शुद्धिकरण गरिन्छ र भोलिपल्ट सर्वसाधारणका लागि दर्शन तथा पूजाआजा गराइन्छ ।

यस दिन नेवारहरुको चाड सिथि नखः पनि पर्ने भएकोले विहान कुमार कात्र्तिकेको पूजाआजा गरी घरघरमा भ्वज पनि खाइन्छ ।

देवताहरुको सेनापतिका रुपमा पुजिने कुमारको पूजाआजा गरेमा शत्रुको नाश हुने घर, परिवारको रक्षा हुने र सुखसमृद्धि बढ्ने र घरमा दुष्टात्माहरुले प्रवेश गर्न नपाउने किंवदन्ती रहेको छ ।

सिथि कुमार गुठीका मुल नाय (नाइके) कृष्णदास श्रेष्ठ हुन्। आफ्नो घरमा कुमारको मूर्ति स्थापना भएको सम्बन्धमा आफ्ना पितापुर्खाले एउटा कथा सुनाउँदै आएको मूल नाय श्रेष्ठ बताउँछन्।

उहिले एकपटक कुमारले सानो बालकको रूप धारण गरी बलम्बुमा रुँदै हिँड्न थालेछन्। त्यहीबेला कृष्णदासका पुर्खा काम विशेषले बलम्बु पुगेका थिए।

बलम्बु पुग्दा रोइरहेको बच्चाको आवाजले कृष्णदासका पुर्खा (बाजेबराजु)को ध्यान कुमारतिर तानियो। रोइरहेको बालकको कोही आफन्त थिएनन्, त्यसैले उनीहरूले बालकलाई जैसीदेवलस्थित आफ्नै घरमा ल्याए।

‘त्यो दिन सिथि नखः परेको थियो। त्यही कारण मेरा बाजे–बराजुले बारा र चटामारी खुवाउन बालकलाई एक कोठामा राखी चोटा ९माथिल्लो कोठा० मा जानुभएछ,’ मूल नाय श्रेष्ठ भन्छन्, ‘तल झर्दा त बालकलाई जहाँ राखिएको थियो, त्यहीँ सिद्ध भए।

त्यस दिनदेखि यही ठाउँमा सिथि कुमार सिद्ध भएको जनविश्वास छ।’

Categorized in संस्कृति