कुम्भेश्वर मन्दिरको बर्षबन्धन पूजा सम्पन्न
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण २४, बिहिबार

आज ललितपुर बगलामुखीस्थित सर्वेश्वर/कुम्भेश्वर मन्दिरको ३२७ औं स्थापना दिवसको वर्षवन्धन पूजा सम्पन्न भएको छ ।
हरेक बर्ष फाल्गुण कृष्णपक्ष द्वादशीको दिन सर्वेश्वर महादेवको पाँचतल्ले मन्दिरको बर्षबन्धन पूजा (बुसादँ) गर्ने चलन रहेको छ । पाटनको पाँचतल्ले कुम्भेश्वर महादेव मन्दिरको बर्षबन्धन पूजाको क्रममा आज मन्दिर प्रांगनमा हवनसहित देशबलि पूजा गरिएको थियो ।
आजको पूजा महादेवको नभई मन्दिरको भएको कुम्भेश्वर महादेव पूजारी शिवेश शर्माले बताए ।
‘आज बर्षबन्धन कुम्भेश्वर मन्दिरको हो, महादेवको होइन । यस मन्दिरको सर्वेश्वर महादेव ६४ स्वयम्भू ज्योतिर्लिङ्ग मध्ये ४८औँ हो । त्यसैले मूल देवताको कुनै स्थापना दिवस भनी तोकिएको छैन’ पूजारी शर्मा बताउँछन् ।
पहिला खुल्लै रहेको स्थानमा नेपाल सम्वत (ने.स) ५१२ वैशाख कृष्ण षष्ठीका दिन राजा जयस्थिति मल्लको शासनकालका तत्कालिन महापात्र जयभीमले २ तल्ले मन्दिर बनाइएको अभिलेख हालसम्म पनि मन्दिर प्रांगणमा सुरक्षित रहेको शर्माको भनाई छ ।
पछि ने.सं. ८१७ मा मात्र राजा योगनरेन्द्र मल्लले मन्दिरको छाना पाँच तल्ला पुर्याएको उनको भनाई छ ।
पूजारी शर्माका अनुसार ने.स ८१७ फाल्गुन कृष्ण द्वादशीका दिन सुवर्ण कलशसहित कोट्याहुति यज्ञ गरी मन्दिर पाँचतल्ले बनाएर ध्वजारोहण गरिएको थियो ।
सो अवसरमा गाःबहालका पूर्वानन्द उपाध्याय मूल होता, राजा योगनरेन्द्र मल्ल मूल यजमान र यस मन्दिरका भट्ट उद्घाता भई यज्ञ सम्पन्न गरेका थिए ।
त्यही कारणले आजसम्म पनि मन्दिरको बुसादँ गरिँदा गाःबहालका राजोपाध्याय देव ब्राह्मण होममा मूल होता हुने गर्छन् । आजको यज्ञमा भने गाःबहालका राजीव राजोपाध्याय होता भई होम गरेका थिए ।
त्यस्तै अहिले सर्वेश्वर महादेवका पूजारी यस होममा उद्घाता रहने र यजमानका रुपमा महादेव मन्दिरका भण्डारीहरु रहने चलन रहेको छ ।
Categorized in संस्कृति